नेकपा स्थायी समितिमा विष्णु पौडेलले काम घण्टी बजाउने

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा महासचिव विष्णु पौडेलले नेताहरु बोलिरहँदा घण्टी बजाएका थिए ।
बोल्ने क्रममा नेता भीम रावल र युवराज ज्ञवालीले २० मिनेटभन्दा बढि बोलेपछि महासचिव विष्णु पौडेलले समय सकिएको घण्टी बजाएका थिए ।
सोमबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले आाइतबार प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले सरकार र पार्टी नेतृत्वलाई पद्धतिअनुसार चल्न चलाउन सुझाव दिएका छन् ।
आइतबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले विधान संशोधन प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनमाथि भएको छलफलका क्रममा नेताहरुले सरकार र पार्टी सञ्चालनप्रति भएका कमीकमजोरी औंल्याउँदै सुधारतर्फ अघि बढ्न ध्यानाकर्षण गराएका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रतिवेदनमाथि बोल्दै नेताहरुले दिइएको २० मिनेटको समयमा मुलभूत रुपमा समर्थन गर्दै आफ्नो सुझाव राखेको जानकारी दिए । त्यस्तै सरकारलाई प्रभावकारी र शसक्त बनाउन पनि नेताहरुले ध्यानाकर्षण गराएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै स्थायी समिति सदस्य भीम रावल र देव गुरुङले सरकार र पार्टी सञ्चलनप्रति चर्को आक्रोश व्यक्त गरेका थिए । उनीहरुले सरकार मनलाग्दी ढंगले चल्न थालेको गुनासो सुनिएको तथा पार्टी विधि र विधान भन्दा पनि केही नेताको निर्देशनमा चलेको भन्दै विधि र विधानको ख्याल गर्न आग्रह गरेका थिए ।
त्यस्तै रावल र गुरुङले अमेरिकाले नेपाललाई दिने भनेको एमसीसी फण्डको चर्को विरोध गरेका थिए ।
नेताहरुले अध्यक्षको प्रतिवदनमा उल्लेख गुट झाङ्गिएको प्रसंगमा बोल्दै गुट नियन्त्रण नभए पार्टी नै समाप्त भएर जाने चेतावनी दिएका थिए । अध्यक्षको प्रतिवेदनमा गुट झाङ्गिएको भनेर चिन्ता गरिएको छ । नेतृत्वले त्यस्तो चिन्ता गर्नु स्वभाविक हो । तर गुट नियन्त्रण भएन भने पार्टी समाप्त भएर जान्छ नेता गुरुङले भनेका थिए ।
बैठकमा महिला नेतृहरुले सचिवालयको संख्या बढाउन र त्यसमा महिलाको प्रतिनिधित्व गर्न सुझाव दिएका थिए । उनीहरुले सचिवालयमा पुरुष मात्र रहेको भन्दै महिलालाई पनि समावेश गर्नुपर्ने त्यसो भए समावेशी पनि देखिने धारणा राखेका थिए । अष्टलक्ष्मी शाक्य र पम्फा भुषालले बैठकमा यस्तो माग गर्दा पुरुष नेताहरु मौन बसेका थिए ।
३० मंसिर २०७६, सोमवार १४:४९ बजे प्रकाशित