भ्रष्टाचारको आरोप निराधार : कर्माछिरिङ, दिए चुनौती
काठमाडौं, माघ ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूमाथि लागेको भ्रष्टाचार र आर्थिक अनियमितताको आरोप निराधार रहेको दाबी गरेको छ ।
एन्फाले गरेका कार्यविवरण समेटिएको श्वेतपत्र सार्वजनिक गर्न शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो नेतृत्वको बचाउ गरे ।
आरोपहरु प्रमाणित गर्न चुनौती
एन्फा निर्वाचनमा आर्थिक लेनदेन भएको भन्दै चार जिल्लाले लगाएका आरोपहरु कानुनीरुपले प्रमाणित गर्न शेर्पाले चुनौतीसमेत दिए ।
एन्फाको पुरानो नेतृत्वप्रति इंगित गर्दै अध्यक्ष शेर्पाले विगतमा भएका अनियमितता र घोटालाबारे छानबिन सुरु गरेको जिकिर गरे ।
‘छानबिनमा पूर्णसमर्थन’
आफू पारदर्शीताको लडाइँबाटै स्थापित भएको स्मरण गर्दै शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार, एएफसी वा अरु सरोकारवाला निकायले गर्ने छानबिनमा आफ्नो पूर्णसमर्थन रहने बताए ।
घलेको पदीय हैसियतमाथि नै कानुनी प्रश्न
एन्फाको मानार्थ अध्यक्ष टासी घलेलाई बर्खास्त गरिएकोबारे सोधिएको प्रश्नमा शेर्पाले चितवनमा भएको एन्फाको विशेष साधारणसभाले घलेलाई मानार्थ अध्यक्षकारुपमा स्वीकार नै नगरेको भन्दै घलेको पदीय हैसियतमाथि नै कानुनी प्रश्न उठाए ।
४ माघ २०७५, शुक्रवार १४:०८ बजे प्रकाशित













