मन्त्रिपरिषद् तेस्रो पटक विस्तार, ११ मन्त्रीले लिए शपथ

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। ओलीले आफ्नै पार्टी नेकपा एमाले र सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना नेतालाई सरकारमा सहभागी गराएका छन्।

नयाँ १५ मन्त्री तथा राज्यमन्त्रीको राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई शपथ गराएकी छन्। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश दीपकप्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो।

अपराह्न ४ बजे तय गरिएको शपथ ग्रहण कार्यक्रम राष्ट्रियसभाको उपसभामुखको निर्वाचनका कारण ढिलो भएको थियो। एमाले र माओवादीले शुक्रबार मात्रै मन्त्री बन्ने नेताहरूको नामको टुंगो लगाएका थिए।

एमालेबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताहरूको नाम प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूसँगको छलफलबाट शुक्रबार मात्रै अन्तिम रूप दिएका थिए।  माओवादी केन्द्रका अध्यक्ष प्रण्डले पनि पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि मन्त्रिपरिषद्मा सहभागी हुने नेताहरूको नामको सूची प्रधानमन्त्रीलाई शुक्रबार दिउँसो बुझाएका थिए।  मन्त्रीको शपथ ग्रहण गर्नेमा एमालेका दुई सचिव रहेका छन्।

सचिव प्रदिप ज्ञवालीलाई परराष्ट्र मन्त्री बनाइएको छ भने अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, पर्यटन मन्त्रीमा रवीन्द्र अधिकारी अधिकारीले शपथ लिएका छन् भने रघुवीर महासेठले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। शेरबहादुर तामाङ कानुनमन्त्री, जगत विश्वकर्मा युवा तथा खेलकुदमन्त्री भएका छन् भने गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीका रुपमा मन्त्रिपरिषद्मा सहभागी गराइएको छ। सञ्चारमन्त्रीमा कसैलाई जिम्मेवारी नदिइएकाले बास्कोटा मन्त्रिपरिषद्मा सहभागी हुनेछन्।

यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी पाएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ। एमालेबाट पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री बनेकी छन्।

माओवादीबाट मन्त्री हुनेमा वर्षमानदेखि बिनासम्म

माओवादीबाट पाँच नेता ओली सरकारमा सहभागी भएका छन्। माओवादी नेता वर्षमान पुनले  ऊर्जा तथा जलस्रोतमन्त्रीका रूपमा मन्त्रिपरिषद्मा सहभागी भएका छन्।

त्यस्तै, गिरिराजमणि पोखरेलले शिक्षामन्त्रीको शपथ लिँदा शक्ति बस्नेतले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्। यी तीन नेताले माओवादीबाट यसअघि पनि मन्त्री बनिसकेका हुन्।  त्यस्तै, ओवादीबाट चक्रपाणि खनाल र बिना मगर मन्त्री बनेका छन्। भूमिसुधार र मगरलाई खानेपानी मन्त्री बनाइएको छ। जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन्। त्यस्तै रामकुमारी चौधरी कृषी तथा भूमिसुधार राज्यमन्त्री बनेकी छन्।

२ चैत २०७४, शुक्रवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु