अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोग र मन्त्रालयमा धर्ना दिँदै
काठमाडौं, फागुन २१ । आफुहरुको माग पुरा नभएको भन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोग र शिक्षा मन्त्रालयमा धर्ना दिँदैछन् ।
छुट अस्थायी करार शिक्षक संघर्ष समिति नेपालले गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत यहि फाल्गुन २५ गते शिक्षक सेवा आयोगमा १० बजे देखि ४ बजे सम्म धर्ना बस्ने तय भएको छ ।
२६ गते शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना तथा शिक्षा मन्त्री लाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलिले जानकारी दिए ।
संघर्ष समितिले जिल्ला भेला र ज्ञापन पत्र लगाएतका आन्दोलनका कार्यक्रम सकाएर पिडित बिद्यार्थी, शिक्षक कर्मचारि र शिक्षाबिद् संग परामर्श र सहकार्य गरि आन्दोललाई थप ससक्त र प्रभाबकारि बनाउने निर्णय पनि गरेको छ ।
संघर्ष समितिले आफुहरुको माग सरकारले पुरा नगरे विद्यालयस्तरको वार्षिक र एसइई परीक्षामा असहयोग गर्ने चेतावनी दिइसकेका छन् ।
आफूहरुको रोजगारीको ग्यारेण्टी सरकारले गर्नुपर्ने माग राख्दै अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगमा ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् ।
यसअघि छुट अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिको टोलीले आयोगका अध्यक्ष ताना गौतमलाई ज्ञापन पत्र बुझाएएको थियो ।
आयोग परिसरमा अस्थायी शिक्षकहरुले दुई घण्टा धर्ना समेत दिएका थिए ।
समितिका अध्यक्ष हरिवंश पराजुलीले माग सम्बोधन नभए आउँदो चैतमा हुने विद्यालय स्तरको वार्षिक परीक्षा र एसईई परीक्षामा असहयोग गर्ने चेतावनी दिएका हुन् ।
२०७२ असोज २ गते पछिका छुट अस्थायी शिक्षकहरुलाई मौलिक हकको धारा १८ को उपधारा १ र धारा ३३ को उपधारा १ बमोजिम भेदभाव रहित रोजगारीका लागि समान विज्ञापनमा समावेश गरिनुपर्ने माग गरिएको छ ।
एउटै प्रक्रियाबाट नियुक्त भएका शिक्षकहरुलाई समानता र भविष्यमा शिक्षक बन्न चाहने लाइसेन्सधारीको न्यायका लागि २०४९ देखि हालसम्मलाई सर्वसहमतिबाट उपयुक्त तरिकाले निश्चित प्रतिशत निर्धारण गरी आन्तरिक र खुला विज्ञापनको व्यवस्था गर्नुपर्ने माग संघर्ष समितिको रहेको छ ।
२१ फागुन २०७४, सोमवार १०:०४ बजे प्रकाशित












