राजनीतिले सबैलाई समान व्यबहार गर्नुपर्छ
मन्थली, जेष्ठ १८ । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित आदिवासि जनजातीका लागि १० दिने लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । आदिवासी जनजाती जिल्ला समन्वय समिती रामेछापले मन्थलीमा एक कार्यक्रम गरी लोकसेवा तयारी कक्षा बुधबारबाट समापन भएको जानकारी गराए ।
आदिवासी जनजाती जिल्ला समन्वय समिती रामेछापका अध्यक्ष भक्तिलाल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ८२ जना खरिदार र ५० जना नायव सुब्वाको तयारी गरिरहेका विद्यार्थीलाई निशुल्क पुस्तक समेत वितरण गरिएको छ ।
कार्यक्रममा मन्थली नगरपालीकाका नगर प्रमुख रमेश कुमार बस्नेतले राजनीतिले सबै जातजातीलाई समान व्यबहार गरेको बताएका छन । सबै जातीलाई समान व्यबहार हुँदाहुँदै पनि राज्यका निकायमा राष्ट्रसेवक कर्मचारी बनेर प्रवेश गर्न प्रतिस्पर्धा अनिवार्य रहेको भन्दै उनले प्रतिस्पर्धाबाट छनौट भएका निजामति कर्मचारीले मात्रै कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्ने बताए ।
नेपालको संविधानले आदिवासी जनजातीलाई बिशेष अधिकार दिएको चर्चा गर्दै उनले संविधान कार्यान्वयनसँगै आदिवासी जनजातीले राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व गर्ने बिश्वास समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिती रामेछापका निमित्त स्थानीय विकास अधिकारी कृष्णलाल पिया लगायतले मन्तव्य राखेका थिए । कक्षामा सहभागि भएका बिद्यार्थीले १० दिने अवधिमा आफूहरुले लोकसेवाको बारेमा आधारभूत ज्ञान पाएको प्रतिक्रिया दिएका छन । कार्यक्रम मन्थली नगरका प्रमुख बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।
१८ जेठ २०७४, बिहीवार ०४:१९ बजे प्रकाशित













