बालुवाटारमा २ बजे एमालेको स्थायी कमिटी बैठक, लगत्तै मन्त्रिपरिषद बैठक बोलाइयो
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।
एमाले विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ ।
तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो ।
बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ । राष्ट्रिय सभाको उपनिर्वाचनलाई मध्यनजर गरेर आजको बैठक बोलाइएको हो ।
राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षले आ-आफ्ना उम्मेदवार उठाएका छन् । ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन् । नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । वागमती प्रदेशका प्रदेश र स्थानीय तहमा एमालेको बहुमत रहे पनि नेपाल पक्ष विभाजित हुँदा मत बाँडिने निश्चित छ ।
देवकोटलाई कांग्रेस(माओवादीको समर्थन छ । बादल एमाले उमेदवार हुन भने देवकोटा स्वतन्त्र हुन्। बादलको जित/हारले एमाले एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताले सार्वजनिक गरेका छन् । बालुवाटारको बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनबारे समेत समिक्षा हुने स्रोतको भनाई छ ।
स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बोलाइएको एक मन्त्रीले बताए ।
६ जेठ २०७८, बिहीवार ११:४१ बजे प्रकाशित













