चक्रवात आँधीको कारण तीन सय १४ जनाको उद्धार, ९० जना अझै बेपत्ता

अरब सागरमा आएको चक्रवात आँधीका कारण मुम्बईको समुद्र तट नजिक एक सानो जहाज पी ३०५ डुब्दा ९० जनाभन्दा धेरै मानिस अझै पनि हराइरहेका छन् ।
भारतीय जलसेनाले जहाजमा यात्रा गरिरहेका दुई सय ७० जनामध्ये एक सय ७७ जनाको उद्धार गरिएको र बाँकी मानिसको खोजी भइरहेको जनाएको छ ।
झन्डै सात सय जना रहेका तीन अन्य व्यापारिक जहाज अहिले अरब सागरमा रोकिएको जनाएको छ ।
यस्तै तटरक्षक बलको चेतक हेलिकप्टरले ग्याल कन्स्ट्रक्टर जहाजको चालक दलका सबै एक सय ३७ जनाको उद्धार गरेको छ ।
अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतमा १६ जनाको ज्यान गएको छ । एक लाख ५० हजार जना विस्थापित भएका छन् ।
केरला, कर्नाटक, गोवा, महाराष्ट्र, गुजरातको जनजीवन प्रभावित भएको छ ।
४ जेठ २०७८, मंगलवार १८:५७ बजे प्रकाशित