माधव नेपाललाई केपी ओलीको तारन्तार फोन

नेकपा एमालेमा देखिएको विभाजनउन्मुख विवाद मिलाउन फेरि प्रयास सुरु भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजीनामा तयारी गरेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णायक पहल थालेका हुन्।
कांग्रेस र माओवादीको सल्लाहमा ओलीलाई फेरि प्रधानमन्त्रीमा फर्किन नदिन नेपाल पक्षका १० देखि १३ जना सांसदले राजीनामा दिने चेतावनी दिएपछि निर्णायक पहल सुरु भएको हो।
दोस्रो तहका नेताहरुबीच केही दिनदेखि जारी वार्ताबीच ओलीले बुधबार राति वरिष्ठ नेता नेपाललाई फोन गरेका थिए। तर हिजो राति नेता नेपालले फोन उठाएनन्।
त्यसपछि ओलीले आज बिहानै नेपाललाई फोन गरेर छलफलका लागि बोलाएका छन्। स्रोतका अनुसार दुई नेताबीचको फोन सम्वादपछि संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेल अहिले कोटेश्वरस्थित नेपाल निवासमा पुगेका छन्।
ओलीको सन्देश लिएर पुगेका पौडेलले नेपालसँग मिल्न सक्ने विकल्पबारे छलफल गर्दैछन्। दूतका रुपमा पुगेका पौडेलले नेपालसँग मिल्ने विकल्पको टुंगो गर्ने बताइएको छ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक डाकिएको बताए। माधव नेपाल पक्षले राजीनामा दिने चर्चा भइरहेका बेला नेम्बाङले तत्काल त्यो सम्भव नरहेको बताएका छन्।
नयाँ सरकार बनाउन विपक्षी दलहरु लागिरहेको बेला नेपाल समूहका सांसदहरुले राजीनामा तयारी गरिसकेका छन् । नेपाल समूहले यसअघि पनि राजीनामा तयार गरेको थियो । राजीनामा पत्र बोकेर केही दिनअघि संसद सचिवालयमा पुगेका नेताहरु आफ्नै समूहभित्र विवाद देखिएपछि राजीनामाबाट पछि हटेका थिए।
बालुवाटार स्रोतका आज बस्ने बैठकले नेपाल समूहका माग सम्बोधन गर्नेगरी मिलनबिन्दु खोज्ने भएको छ। ‘नेपाल समूहमा खासगरी भीम रावल, माधव नेपाल, अष्टलक्ष्मी शाक्यहरुलाई फर्कन गाह्रो भएको हो,’ ओलीनिकट एक नेताले,‘समस्या चाहिँ के हो भने उहाँहरुले कांग्रेससँग गठबन्धनका लागि वचन दिएकाले फर्कन गाह्रो मान्नु भएको छ।
उनका अनुसार आज मिलनबिन्दु भेटिने सम्भावना बढ्दै गएको छ ।‘राजीनामा दिने भनेपछि संख्या पुगेन, नपुगेपछि राजीनामा दिनुको कुनै अर्थ भएनु, उनले भने, ुत्यसपछि उहाँहरु पनि दबाब मै हुनुहुन्छ, मिलनबिन्दुमा पुग्न सक्छौँ। आजको बैठकले केही न केही सकारात्मक सन्देश दिनेछ।
३० वैशाख २०७८, बिहीवार १०:०४ बजे प्रकाशित