शीतल निवास पुगेर ठाकुर र महतोको आग्रह - उपेन्द्र आए वैधता नदिनू
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका फर्किएका छन् ।
राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा ससरकार गठन गर्न दिएको समय घर्किन लागेका बेला उनीहरूले शीतल निवास गएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन् ।
स्रोतका अनुसार उनीहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।
जसपाको उपेन्द्र यादव(बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ । ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो भने अर्को पक्षले विपक्षमा मतदान गरेको थियो ।
राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेकी छिन् । उक्त समय भोलि अबेर ९ बजे सकिँदै छ ।
शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा गएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए । छलफलमा विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिबारे छलफल भएको थियो ।
ठाकुर पक्ष आधिकारिकताको विषय उठाएर विपक्षीलाई बहुमत पुग्न नदिने रणनीतिमा छ । यसको निरुपण निर्वाचन आयोगबाट टुंग्याउँदा सरकार बनाउने समय घर्किइ सक्ने र प्रधानमन्त्री ओली पुनः नियुक्त हुने वातावरण बन्ने अवस्था सिर्जना हुन्छ ।
कसको हस्ताक्षर आधिकारिक हो भन्ने विषय निर्वाचन आयोगमा पुगे यो विषय तत्कालीन नेकपामा जस्तै लम्बिने छ । त्यतिबेलासम्म सरकार गठनको कोर्ष अर्कै विन्दुमा पुग्नेछ ।
२९ वैशाख २०७८, बुधवार १५:१९ बजे प्रकाशित





