संक्रमित सांसदलाई संसदमा मतदानस्थलको व्यवस्था गर्ने मन्त्रिपरिषदको निर्णय
शनिवार साँझसम्म २६ जना सांसदमा कोभिड संक्रमण

२५ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमित सांसदलाई संसदमा मतदानस्थलको व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको शनिवारको मन्त्रिपरिषद् बैठकमा सोमवार शुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिने प्रक्रियामा कोभिड संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ ।
शनिवार साँझसम्म २६ जना सांसदमा कोभिड संक्रमण देखिएको छ भने ५० जनाको अझै रिपोर्ट आउन बाँकी छ । संक्रमित सांसदलाई संसद भवनभित्रै एक ठाउँमा राखेर मतदानको व्यवस्था गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषदको बैठक कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पतालहरुका व्यवस्थापन कसरी गर्ने भन्ने बारेमै केन्द्रित रहेको पनि मन्त्रीहरुले बताएका छन् ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालहरुको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने बताएका थिए ।
बैठकमा एकीकृत कोभिड अस्पताल सन्चालन गर्नेबारे प्रस्ताव आएको र त्यसमा थप छलफलपछि निर्देशिकासहितको व्यवस्थित प्रक्रिया अघि बढ्न सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।
२५ वैशाख २०७८, शनिवार २०:३२ बजे प्रकाशित