प्रधानमन्त्रीका वकिललाई न्यायाधीशको व्यङ्ग्य

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको प्रतिरक्षामा बहस गरेका एक जना कानुन व्यवसायीलाई न्यायाधीश अनिलकुमार सिन्हाले व्यङ्ग्य गर्नुभएको छ । वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले दलहरु चुनावको तयारीमा लागिसकेको र देश चुनावमय भएको दाबी गरेपछि सिन्हाले ‘जनताले सहयोग गरेकै रैछन् त’ भन्दै व्यङ्ग्य गर्नुभएको हो ।

गुरागाईंले प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेश लिने निर्णय गरेको भन्दै विघटन संविधानसम्मत भएको जिकिर गर्नुभएको थियो । उहाँले देश चुनावमय भइसकेको भन्दै लोकतन्त्रमा चुनावको विकल्प खोज्न नहुने बताउनुभयो । त्यसपछि सिन्हाले भन्नुभयो, ‘विघटनलाई नगरे पनि जनताले निर्वाचनलाई सहयोग गरेका रैछन् त, भो अब टुङ्ग्याउनुस्, तपाईंको समय सकियो ।’

यसअघि गुरागाईंले संसदले अप्ठेरो पारेको बेला कार्यकारी प्रधानमन्त्रीलाई जनतामा निर्वाचनमा जान संविधानले नरोक्ने बताउनुभएको थियो । उहाँले कार्यकारिणी प्रमुखले आफूलाई संसदले असहयोग गरेको महसुस गरे विघटनमा जानसक्ने बताएपछि न्यायाधीश सिन्हाले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने कि नपर्ने भनेर प्रश्न गर्नुभएको थियो । सिन्हाले भन्नुभयो, ‘तपाईं बारम्बार जनतामा जाने कुरा गर्दै हुनुहुन्छ । प्रधानमन्त्री त संसद्प्रति पनि उत्तरदायी हुनुपर्ला नि ? त्यस्तो हो भने संसद्को औचित्य के ?

जवाफमा गुरागाईंले संसद र प्रधानमन्त्रीको सम्बन्ध नियन्त्रण र सन्तुलनको हुने बताउनुभयो । ‘पार्लियामेण्ट र प्रधानमन्त्रीको सम्बन्ध चेक एण्ड ब्यालेन्सको हुन्छ श्रीमान । संसदलाई अविश्वासको मत राख्ने अधिकार भएजस्तै प्रधानमन्त्रीलाई पनि जनतामा जाने अधिकार रहन्छ,’ उहाँले अगाडि भन्नुभयो, ‘प्रधानमन्त्री संसदप्रति उत्तरदायी त हुनैपर्छ, साथै उसलाई जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने जिम्मेवारी पनि हुन्छ ।’

गुरागाईंले आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको पनि बताउनुभयो । संसदीय व्यवस्थामा आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याइनु अनैतिक हुने भन्दै उहाँले त्यस्तो अवस्थामा विघटनको विकल्प नहुने जिकिर गर्नुभयो ।

‘एउटा प्रधानमन्त्री जसलाई जनताले मत दिएको छ । उसैको फोटो देखाएर मत मागिएको छ । अब पार्लियामेण्टले काम गर्न दिएन भने विघटन नगरेर के गर्ने ? उहाँले प्रश्न गर्नुभयो । गुरागाईंले निर्वाचनको माहौल बनिरहेको,जनता भोट हाल्न तयार रहेको,दलहरु अप्रत्यक्षरुपमा चुनावी कार्यक्रमको थालनी गरिरहेको जिकिर गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा बहस जारी छ । माघ २० गतेदेखि सरकार पक्षका वकिलहरुले बहस गरिरहेका छन् । बुधबार प्रधानमन्त्रीको निर्णयको प्रतिरक्षामा १४ जनाले बहस गरेका छन् ।

२८ माघ २०७७, बुधवार १८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु