ओलीले एउटा प्रस्ट दृष्टिकोणसहित देशको दृढ नेतृत्व लिनुभएको नेतृ रावलको भनाई
नेपाल कम्युनिस्ट पार्टी नेकपा की नेतृ एवं राष्ट्रिय सभा सदस्य पार्वती रावलले पार्टीकै केही नेताको पदलोलुपताका कारण पार्टीमा विग्रह आएको बताएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाले दरबारमार्गमा शुक्रवार आयोजना गरेको बृहत आमसभामा स्वागत मन्तव्य राख्दै नेतृ रावलले पार्टीमा विग्रह ल्याउने प्रयास खेदजनक रहेको बताइन् ।
पार्टीभित्रका केही पदलोलुप नेताहरूका कारण जनताको प्यारो पार्टी नेकपामा जुन विग्रह ल्याउन खोजिएको छ, त्यो सर्वथा खेदजनक छ, नेतृ रावलले भनिन्, यो दुष्कर्मलाई चिर्दै हामी गम्भीर भएर पार्टी जोगाउनु, जनताको आशा र भरोसालाई जोगाउनु पर्ने अवस्था आएको छ ।
उनले पार्टीमा आएको विग्रहप्रति आफूहरू खुशी नरहेको बताइन् ।
पार्टी विधिवत रूपमा फुटिसकेको छैन, तर पनि यो विग्रहप्रति हामी खुशी छैनौं । पार्टी जोगाउनु हामी सबै नेता र कार्यकर्ताको कर्तव्य हुन आएको छ, नेतृ रावलले भनिन् ।
सरकारलाई चल्न नदिने, काम गर्न नदिने, घेराबन्दी गर्ने षड्यन्त्र पार्टीभित्रैबाट भएकाले आजको अवस्था आएको उनले बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका जनताको आशा र भरोसा रहेको उनको भनाइ थियो ।
ुश्रदेय अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताको आशा छ, भरोसा छ नेतृ रावलले भनिन्, उहाँले एउटा प्रस्ट दृष्टिकोणसहित देशको दृढ नेतृत्व लिनुभएको छ ।
ओली पक्षीय नेकपाको सभामा सम्बोधन गर्ने रावल एक मात्र महिला नेतृ हुन् ।
यसअघि उनकै पहल र सक्रियतामा ओली पक्षले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा भव्य सभा गरेको थियो ।
२३ माघ २०७७, शुक्रवार १४:३२ बजे प्रकाशित





