ओली र प्रचण्डबीचको वालुवाटारमा भएको वार्ता, असहमतिमै सम्पन्न

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।
भेटवार्ता सकरात्मक नभएको बताइएको छ । प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा बारेको गरेको कुराका विषयमा चासो राखेका थिए । साथै प्रचण्डले पार्टीको प्रदेश १ को भर्चुअल बैठकका बारेमा चासो व्यक्त गरेका थिए । तर प्रधानमन्त्री ओलीले ठोस जवाफ नदिएको बताइएको छ ।
साथै प्रचण्डले पार्टिको बैठक बोलाएर आफ्ना कुराहरु पार्टी फोरममै राख्न उपयुक्त हुने विचार राखेको बताइएको छ । त्यस्तै प्रचण्डले निष्कर्ष ननिस्किने भेटवार्ता गर्न आफु अब इच्छुक नभएको समेत बताएर बालुवाटारबाट निस्केको नेकपाका एक नेताले खरीबोटलाई बताएका छन् ।
पछिल्लो समय दुई अध्यक्षबीचको शक्ति संघर्षका कारण नेकपा विवाद उत्कर्षमा पुगेको छ र यो भेटपछि पनि यो असमझदारी जारी नै रहेको छ ।
पछिल्लो पटक कर्णाली प्रकरण, राजदुत नियुक्ति, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना लगायतका विषयमा दुवै अध्यक्षबीच असमझदारी बढेको छ ।
यस अघि दुई अध्यक्षबीच गत शनिबार भेट भएको थियो भने त्यसपछि आइतबार कर्णाली विवादका बारेमा टेलिफोन कुराकानी भएको थियो ।
अहिले दुवै पक्ष कुन पक्षले के कदम चाल्छ भन्ने बारे सतर्क भएको अवस्था देखिएको छ । प्रधानमन्त्री ओलीले कस्ता कदम चाल्न सक्छन भन्ने बारेमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कानुनी राय समेत लिएका छन् । प्रधानमन्त्री ओलीसँग अध्यादेश ल्याएर पार्टी फुटाउने र संसद भंग गरेर निर्वाचनमा जाने सक्ने विकल्प रहेको विषयमा छलफल भएको छ ।
तर दुवै पक्षबीच ठोस विषयमा केन्द्रित भएर संवाद नभएकाले विवाद जस्ताको तस्तै रहेको देखिएको छ ।
२० कात्तिक २०७७, बिहीवार १६:०७ बजे प्रकाशित