चीनबाट जोखिम अनुभव गरेका जापान र अमेरिकाले गरे संयुक्त सैन्य अभ्यास
टोक्यो र वाशिङटनले संयुक्त जलसेना, स्थलसेना र वायुसेना अभ्यास थालेका छन् । यस्ता गतिविधिले यस क्षेत्रमा थप तनाव बढाउने भनी चीनले चेतावनी दिएको छ ।
कीन सोर्ड नाम दिइएको अभ्यास दुई दुई वर्षमा हुने गरेको छ र त्यसमा लगभग ४६ हजार सैनिकहरू संलग्न रहने गरेका छन् जसमा ९ हजार अमेरिकी सैनिक पनि रहन्छन् । अमेरिकाका दर्जनौं युद्धपोत र जापानका युद्धपोतहरू अभ्यासमा संलग्न रहन्छन् ।
अभ्यासमा स्थल र जल दुवैमा विमान ओराल्ने गतिविधि पनि गरिने र अमेरिकी सेनाको बेस रहेको ओकिनावामा पनि गतिविधि हुने यूएस प्यासिफिक फ्लीटले जनाएको छ ।
नोभेम्बर ५ सम्म जलसैन्य अभ्यास गरिनेछ र त्यो जापानको जलक्षेत्रमा हुनेछ ।
चीनविरुद्ध शक्तिप्रदर्शनका लागि यो सैन्य अभ्यास गरिएको हो । बेइजिङ र टोक्योबीच पूर्वी तथा दक्षिणी चीन सागरमा ऊर्जाको खानी रहेको क्षेत्रमा भूस्वामित्व विवाद रहिआएको छ ।
चीनले उक्त क्षेत्रको यथास्थितिमा परिवर्तन ल्याउन खोजेको भनी जापानले आरोप लगाउने गरेको छ भने तथ्य तथा अन्तर्राष्ट्रिय कानूनलाई अमेरिका र उसका क्षेत्रीय साझेदारहरूले जानाजान बंग्याइरहेको भनी बेइजिङले आरोप लगाउने गरेको छ ।
जापानका शीर्ष सैन्य कमान्डर कोजी यामाजाकीले कीन सोर्ड अभ्यास जापानको सुरक्षा स्थितिमा प्रतिक्रिया जनाउनका लागि गरिएको र परिस्थिति अत्यन्तै कठोर बनिरहेको बताए ।
जापानमा अमेरिकी सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल केभिन स्नाइडरले टोक्योसँग अमेरिकाको साझेदारी मजबूत हुँदै गएको सन्देश दिने लक्ष्य यस अभ्यासले लिएको बताए ।
चीनले दक्षिण चीन सागरमा सैन्य गतिवधि बढाएको, ताइवानलाई सताएको र हङकङमा नयाँ सुरक्षा कानून लागू गरेको लगायतका गतिविधिले अमेरिका र जापान दुवैलाई चिन्तित बनाएको बताए ।
१२ कात्तिक २०७७, बुधवार ११:१६ बजे प्रकाशित





