महाधिवेशनमा केपी ओली अध्यक्ष उठ्न सक्नुहुन्छ : शंकर पोखरेल (अन्तर्वार्ता)
एकजनालाई जिम्मा लगाएर पार्टी चलाउन तयार हुनुपर्छ

नेकपा आन्तरिक विवादमा ज्यादा रुमल्लियो, सत्तारुढ दलको गतिविधि हेरेर आम नागरिकमा चरम निराशा छाएको छ। यस्तो स्थिति किन आयो ?
हामीले फरक पृष्ठभूमिका पार्टी एकीकृत गर्यौं, त्यसको स्वभाविक परिणाम हो यो। फरक राजनीतिक कार्यदिशा, आआफ्ना पृष्ठभूमि भएका पार्टी जोडिएर एकता गरेको हो। त्यस्ता पार्टीबीचको एकता चुनौतीपूर्ण नै हो। एकता गर्दा नेतृत्वले निकै सहज ढंगबाट पार लगाउँछौं भन्यो। तर नेताहरुले त्यसका जटिलता बुझ्न सक्नुभएन। आज त्यसैका प्रभाव देखिएका छन्। तपाईंहरुले आँट गर्नुभयो तर, यसले पार्ने प्रभाव सामना गर्ने तयारी चाहिँ कमजोर देखियो भनेर मैले त सुरुमै उहाँहरुलाई भनेको थिएँ। यही ढंगबाट जाँदा सफल हुन सक्तैन भनेर मैले औपचारिक बैठकमा दुई वर्षपहिले नै बताएको थिएँ।
हाम्रा पृष्ठभूमि, मनोविज्ञान, कार्यशैली, स्वार्थमा भिन्नता थिए त्यसैले यो जटिल थियो। यसलाई बदल्न निकै ठूलो पहल र दुई अध्यक्षबीचको बृहत्तर सहकार्यबाट मात्र सम्भव थियो। मैले उहाँहरुलाई यति ऐतिहासिक काम गर्ने तपाईंहरुले त्यसलाई सफल पार्न पहल गर्नुपर्छ कि पर्दैन भनी बारम्बार भन्ने गरेको हुँ। पछिल्लो समय त्यही रियलाइजेसन गरेर एकतातर्फ फर्केको देखिन्छ। मेरो त भनाइ के हो भने– एकता सफल पार्नसक्दा कम्युनिस्ट आन्दोलनका सन्दर्भमा उहाँहरु महानायक नै हो। तर असफल भयो भने त उहाँहरु एकप्रकारले अयोग्य सावित हुनुहुनेछ। यो चुनौतीलाई उहाँहरुले महसुस गर्नुभयो भने समाधान गर्न गाह्रो हुँदैन। उहाँहरुले चालेको कदम ऐतिहासिक छ तर तयारीमा कमजोरी भयो।
झण्डै विभाजनको डिलमा पुगेको पार्टीलाई फेरि जोड्दा त्यसका साइडइफेक्ट त रहन्छन्। पार्टीलाई विभाजनको मुखबाट एकतातर्फ फर्काउँदा विवादका बेलाका तिक्तता र प्रभाव त हुन्छ। त्यसलाई मेट्नुपर्छ। जसरी पार्टी विभाजन हुनसक्ने तहसम्म पुगेर बहस गर्नुभयो, त्यसका पनि प्रभाव छन्। त्यसलाई सामना गरेर मात्र एकता सम्भव हुने हो।
नेताहरुबीच विवाद त हुन्छ तर शीर्ष नेताका विवादका विषय चाहिँ राष्ट्रिय मुद्दा होइन, व्यक्तिगत असन्तुष्टि, आग्रह, अधिकार, पद बाँडफाँट देखियो। यो त अति भएन ?
नेकपामा के भयो भने एकलौटी अधिकार प्रयोग गरेर पार्टी हाँकेका नेताहरुले आपसमा सहकार्य गर्नुपर्ने भयो। त्यो निकै कठिन काम हो। हाम्रो सचिवालयमा भएका ९ जनामध्ये ७ जना त पार्टी प्रमुख भइसकेका नेता हुनुहुन्छ। चारजना प्रधानमन्त्री भइसकेका नेता हुनुहुन्छ। यस्ता व्यक्तिहरुबीचको एकता गर्नु आफैँमा कठिन काम हो। त्यसैले युरोप, अमेरिका वा अन्य विभिन्न मुलुकमा कार्यकारी भूमिकामा बसेपछि अवकाशमा जाने व्यवस्था अवलम्बन गरिएको हो।
हामीकहाँ त्यस्तो भएन। हाम्रो प्रणालीलाई सफल पार्ने हो भने विशेष ढंगबाट सफल बनाउनु पर्यो। अन्यत्र यसरी गाह्रो हुन्छ भनेर विदा गर्ने सिस्टम बसाए। त्यसैले यहाँ पनि या त सहकार्य गर्न सक्षम छौँ भनेर देखाउनुपर्यो अन्यथा कार्यकारी भूमिका पुरा गरिसकेका पुराना नेताहरु रिटायर हुनैपर्छ। पार्टी र सरकारमा कार्यकारी प्रमुख भइसकेका नेताजति एकै ठाउँ बसेर एकता निर्माण गर्ने विषय निकै कठिन कुरा हो। अहिलेको जटिलताको मुख्य कारण नै त्यही हो।
तपाईंले पनि विवाद समाधानका लागि निकै दौडधुप गर्नुभयो। पार्टी विभाजनकै डिलमा पुगेको विवाद खासमा कसरी सल्टिएको हो ?
त्यतिबेलाका कुरा लिखितरुपमै बाहिर आएको पनि छ। मुख्य कुरा दुई अध्यक्षले पार्टी विभाजन हुँदा आइपर्ने चुनौती महसुस गर्नुभयो। त्यसो हुँदा आफ्नो व्यक्तित्वमा गम्भीर क्षति पुग्छ भन्ने ठान्नुभयो। निकै जोखिम देखेर रोकिनुभो र महाधिवेशनको प्रक्रियाबाट अहिले उठेका विषय हल गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो। एक व्यक्ति एक पद जस्ता कुराहरु संक्रमणकालमै अन्त्य गर्न सकिँदैन भन्ने महसुस गरियो। मुख्य कुरा त्यही नै हो। महाधिवेशनउन्मुख भएर एकताका बाँकी काम पुरा गर्ने, पार्टी सदस्यताको अभिलेख तयार गर्ने, नवीकरण गर्ने लगायतका एउटा रोडम्याप तयार गर्नुभयो। त्यही नै सहमतिको आधार बन्यो।
महाधिवेशनबाट नीति, नेतृत्व र संगठनका विषय टुङग्याउने त भनियो तर नेतृत्वको प्रतिस्पर्धामा त पुरानै नेताहरु छन्। प्रचण्ड र माधव नेपाल प्रतिस्पर्धा गर्ने तयारीमा देखिनुहुन्छ। केपी ओली चाहिँ सर्वोच्च नेताजस्तो कुनै स्थान पाए नदोहोरिने भन्ने सुनिन्छ। कसरी मिल्ला ?
कोही न कोही अघि नबढेसम्म त यस्तो पार्टीमा सहमति निर्माण गर्न गाह्रो हुन्छ। म होइन, तिमीहरु मिल्नुपर्छ भन्ने भूमिकामा कोही रह्यो भने त्यसले नेतृत्व निर्माण गर्नसक्छ। त्यसरी नै सकिने हो। त्यो ठाउँ छ। ठाउँ नभएको होइन। सहमति भएन भने स्वभाविकरुपमा लोकतान्त्रिक विधि छँदैछ। त्यसले तय गर्छ। तर यो एकताको महाधिवेशन भएकोले सहमतिकै आधारमा गर्नुपर्छ भन्नेमा नेताहरुबीच सहमति छ। नेताहरु नै विभाजित भए भने पुस्तान्तरका कुराहरु पनि उठ्लान्। त्यो बेग्लै विषय हो। एकता महाधिवेशन भएका नाताले अहिले भएका सचिवालयकै नेतामध्येबाट कसैलाई एक अवधिका लागि नेतृत्व मान्न सकिन्छ। सधैँ पुराना नेताबीच आलोपालो अब सम्भव छैन।
तर, अहिलेका शीर्ष नेताहरु नै नेतृत्वमा जाने तयारी भएका बेला सहमति कसरी होला ?
अधिवेशनको प्रक्रिया सुरु नभइकन छोड्नेले पनि म छोड्छु भन्दैन। म प्रतिस्पर्धी हुँ भनेर पनि सोझै भन्दैनन्। अधिवेशनको प्रक्रियाबाटै र त्यतिबेलाको माहोलबाटै धेरै कुरा थाहा हुन्छ। प्रमुख नेताहरुबीच सल्लाह गरेर एकजनालाई जिम्मा लगाएर पार्टी चलाउन तयार हुनुपर्छ। तर, त्यो कुरा सुरु भएको छैन।
प्रधानमन्त्री ओलीले नदोहोरिने चाहना व्यक्त गर्नुभएको हो नि, हैन ?
उहाँले भन्नुभएको छ तर कोप्रति उहाँको झुकाव रहन्छ, त्यो अहिले भन्न सकिँदैन। जतिबेला हामी विचार संश्लेषण गर्नेर्छौं, त्यसपछि बल्ल त्यो विषय तय हुन्छ। विचारको संश्लेषणमा हुने समझदारीले धेरै कुरा तय हुनेछ। अहिले नै यसो हुन्छ, त्यसो हुन्छ भन्ने अवस्था आइपुगेको छैन।
नीति र नेतृत्वको सामञ्जस्य मिलाउने गरी निर्णय हुनेछ भन्न खोज्नुभएको ?
त्यो त मिलाएरै गर्नुपर्छ नि। नत्र त पार्टी त चल्दै चल्दैन नि। पार्टी सञ्चालन गर्नु भनेको नीति र नेतृत्वबीचको संयोजन हो। नीति र नेतृत्वबीच तालमेल मिलेन भने त पार्टी दुर्घटनामा गइहाल्छ नि।
नीति र नेतृत्वको टिम मिलाएर जिम्मा लगाउन पाए आफू सर्वोच्च नेता बन्ने अध्यक्ष ओलीको चाहना हो ?
त्यो त के हुन्छ, अहिले नै भन्न सकिँदैन। तर अहिले सचिवालयमा भएका प्रमुख नेताहरु त्यो प्रक्रियाका लागि हकदार हुनुहुन्छ।
भनेपछि नेतृत्व चयन झनै जटिल हुने देखिन्छ, हैन ?
एउटै पार्टी, एउटै आन्दोलन, एउटै धारबाट आएकाबीच त जटिल हुन्छ भने दुइटा पक्ष जोडेको अहिलेको जस्तो अवस्थामा त पक्कै कठिन हुन्छ। आम मनोविज्ञान के बन्छ त्यसलाई स्वीकार्नुपर्यो। छलफल बहसमा जाँदा कार्यकर्ताले कस्तो नेतृत्व चाहेको छ भन्ने धारणा त त्यतिबेलासम्म केन्द्रीकृतरुपमा अभिव्यक्त हुनथाल्छ। त्यसले पनि निष्कर्षमा पुग्न सजिलो बनाउँछ।
दुई धार, दुई आन्दोलन, एकता भनेर फेरि दुई अध्यक्षको व्यवस्थाले निरन्तरता पाउने त होइनरु
त्यसरी त पार्टी चल्दैन। फेरि दुई अध्यक्ष, फेरि संक्रमणकाल भन्नु उचित हुँदैन। अब चाहिँ पार्टीको ढाँचामा जानैपर्छ। अहिले कर्णालीको समस्या समाधान गर्न काठमाडौं आउनु परेको त्यसैले हो। नत्र कर्णालीले आफ्नो समस्य त्यहीँ नै समाधान गर्थ्यो। लोकतान्त्रिक विधिअनुसार उसले नै गर्न पाउनु पर्ने हो। यो एकताको संक्रमणकालका कारण यहाँ बोलाउनुपरेको हो। यस्तो अवस्था राखिरहनु हुँदैन।
जनताको बहुदलीय जनवाद र जनताको जनवादको कुरा कसरी मिलाउनुहुन्छ त ?
दुइटा आन्दोलनको संश्लेषण गर्ने कुरा हो। यी दुई आन्दोलन नेपालका यथार्थ हुन्। अरु बाटो छैन। तर हामी के पनि ठान्छौं भने इतिहासको भारी ठसठसी बोकेर हिँड्न सम्भव छैन। अब भविष्यका प्रश्नमै केन्द्रित हुनुपर्छ। त्यसो भयो भने एकता निर्माण सजिलो हुन्छ।
हिजो को सही, को गलत थियो भन्ने बहसतर्फ जाने हो भने आआफ्ना तर्क हुन थाल्छन्। आज हामी कुन धरातलमा छौं र भविष्यमा कसरी अगाडि बढ्ने भन्ने प्रश्नमा केन्द्रित हुँदा सहज हुन्छ। आएको बाटोभन्दा अब जाने बाटोलाई प्राथमिकता दिनुपर्छ भन्ने नै हो। अहिलेको परिस्थिति र अब जाने बाटोमै केन्द्रित भएर छलफल गरे उपलब्धिमूलक हुन्छ। पुराना विषयका सकारात्मक कुरालाई मात्र लिने हो। जुन कुराले समाजलाई अगाडि बढ्न योगदान गर्छ, नयाँ उपलब्धिका लागि प्रेरित र मार्गदर्शन गर्छ, त्यस्तो चिज पुरानोबाट लिने हो। हिँड्ने नयाँ बाटोमा हो। यसो गर्दा एकता पनि सहज हुन्छ र विचारको संश्लेषण पनि ठीक हुन्छ।
नीति र नेतृत्वको संयोजन भनेको के होरु कसरी गर्नुहुन्छ ?
नीतिलाई सहज ढंगले बोक्न तयार हुने मनोविज्ञानको निर्माण हो। बाँडफाँट होइन। जो नेतृत्वमा आउँछ उसले अधिवेशनले तय गरेका नीतिलाई सहज ढंगले कार्यान्वयन गर्नसक्ने परिस्थिति निर्माण गर्छ, त्यसको अगुवाइ गर्छ। त्यो नै नेता हो। नीति एकापट्टिको नेतृत्व अर्कोपट्टिको हुनसक्तैन।
तपाईंले केपी ओली र प्रचण्ड दुवैजनासँग निकट रहेर काम गर्नुभयो। प्रचण्डले पनि आजकल तपाईंप्रति भरोसा गर्न थालेको हुँदा अब प्रचण्ड र शंकरको टिम जम्छ भन्ने विचार पनि बन्न थालेको पाइन्छ। के भन्नुहुन्छ ?
अहिले हामी त्यो तहमा प्रवेश गरेका छैनौं। त्यहाँसम्म पुगेका छैनौं। त्यो चाहिँ अनुमानको कुरा हो। स्वभाविकरुपमा एकता जोगाउनुपर्छ भन्ने हिसाबले आम कार्यकर्ताको चासो चिन्ताको प्रतिनिधित्व मैले गरेको छु। त्यो मेरो कर्तव्य हो। त्यसर्थमा अध्यक्षहरुलाई भेट्ने, त्यसको महत्व बताउने गरेको छु। उहाँहरुले त्यो चीजलाई आत्मसात् गर्नुभएको छ। त्यसले पार्टी एकता जोगिएको छ। यो एउटा पक्ष हो। हामी हिँड्ने विषयबारे धेरै प्रश्नहरुको उत्तर खोज्न त बाँकी नै छ। जब अधिवेशनको प्रक्रिया सुरु हुन्छ, त्यसपछि मात्र यसबारे छलफल आरम्भ हुन्छ।
दुईतर्फका सदस्यता मिलाउनेलगायत विषयमा धेरै जटिलता आएको भनिन्छ, यो एकता महाधिवेशनका अरु प्रमुख चुनौति के के हुन्र ?
मनोविज्ञान जोड्ने कुरा नै हो। अहिले नेकपा वैधानिकरुपमा एउटै पार्टी हो। तर मनोविज्ञानका हिसाबले मोर्चा जस्तै छ। त्यसैले मैले भन्ने गरेको छु यो सुन्तला जस्तो छ। बाहिरबाट हेर्दा एउटा छ, भित्र केस्राकेस्रामा विभक्त छ। तर पार्टी स्याउजस्तो हुनुपर्छ। बाहिरबाट देखिएजस्तै भित्र पनि ठोस हुनुपर्यो। विचारको बहसले त्यस्तो बनाउँछ। चुनौति खोज्यो भने त लामो सूची नै तयार हुन्छ। विधि स्थापित गर्ने, विचार र नेतृत्वलाई केन्द्रीकृत गर्ने नै मुख्य चुनौती हुन्।
एकताको महाधिवेशन भएकोले सहमतिमा नीति र नेतृत्व चयन गर्ने भनिएको छ त्यो त नेतृत्व तहमा मात्र होला नि ?
त्यो नेतृत्व तहमै हो। तलसम्म त सम्भव हुँदैन। कार्यकर्ताको चाहनालाई अधिवेसनबाट अभिव्यक्त हुन दिनुपनि पर्छ। सहमति र छनोटको सन्तुलन गरेरै जानुपर्छ।
समग्र डेलिभरी र कोरोना महामारी नियन्त्रणमा नेकपा सरकार त पूरै असफल नै भयो नि१
त्यस्तो होइन। हामीकहाँ संक्रमणको अवस्था हेर्दा हामी त्यतिसारो असफल भएको भन्ने देखिन्न। दक्षिण एसियामा हेर्दा पनि मृत्युदर हामीकहाँ कम छ।
अहिले त बढिरहेको छ नि ?
बढेपनि अहिले हामीकहाँ एक प्रतिशत छ भने पाकिस्तानमा ३ प्रतिशत छ। दुनियाँले पाकिस्तानलाई असफल भनेको छैन, हामी कसरी असफलरु महामारीका सन्दर्भमा हाम्रो पोजिसन त्यस्तो कमजोर होइन। तर मान्छे बढी आत्तिएको चाहिँ हो। अहिले हामीले परीक्षणको सामर्थ्य र उपचार विधि विकास गरेका छौं। त्यसले मृत्युदरलाई नियन्त्रण गरेको छ। महामारीले कति मान्छेको मृत्यु भयो भन्ने आधारमै विश्लेषण गर्नुपर्छ।
अस्पताल भरिए अब उपचार पाइँदैन भन्ने भएपछि त मान्छे आत्तिने भए नि, होइन र ?
त्यो त सबैतिर त्यस्तै भयो। दिल्लीमा, मुम्बईमा, न्युयोर्क, लण्डनमा भएनरु युरोपियन मुलुकको हालत के भयोरु महामारीका बेला परम्परागत सिस्टम सबैतिर अस्तव्यस्त भएका छन्। अस्पतालमा ठाउँ नपाएको पनि एक–दुई दिन देखिएको छ तर लामो समय त्यस्तो छैन।
यस्तो महामारीका बीच पनि सत्तारुढ दल अन्य किचलोमै व्यस्त भयो। सरकार जनताको ज्यान जोगाउन गम्भीर देखिएन नि ?
त्यसले असर त पारेको छ तर हामीले परिणाममै हेर्नुपर्छ र त्यसकै आधारमा कुरा गर्नुपर्छ। अरु कुरामा परिणाम भन्ने यो मामिलामा त्यो हुँदैन भन्न मिल्दैन। एसियामा सबैभन्दा धेरै मानिस क्वारेन्टिनमा राख्ने मुलुक नेपाल हो। सबैभन्दा आइसोलेसन धेरै भएको मुलुक पनि नेपाल हो।
काठमाडौंमा बिजोग छ। क्वारेन्टिन, आइसोलेसनको कुनै व्यवस्था छैन। काठमाडौंमात्र मुलुक होइन नि। अस्पताल पूर्वाधार चाहिँ हामीकहाँ कम हो। तर कोरोना विशेष अस्पताल बनाएर काम गरिरहेका छौं। प्रदेश ५ मै हामीले कोरोनाको मात्र उपचार गर्ने चारवटा अस्पताल बनाएका छौं। त्यसले गर्दा पनि यत्तिको नियन्त्रण भएको हो भन्नुपर्यो नि।
६ कात्तिक २०७७, बिहीवार १९:२५ बजे प्रकाशित