‘रअ’ प्रमुख सामन्त मध्यराती प्रम निवास वालुवाटार छिरे
			बुधबार अकस्मात काठमडौं आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेका छन्।
रअ प्रमुख गोयल बुधबार राती ९ बजेर १५ मिनेटमा बालुवाटार प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ। स्रोतका अनुसार राती साढे १० बजेसम्म पनि गोयल बालुवाटारमै रहेका छन्।
सीमा विवादपछि नेपाल र भारतबीच कूटनीतिक मौनता रहेका बेला काठमाडौंमा एकाएक भारतीय गुप्तचर अधिकारीहरु सक्रिय भएका हुन्। भारतसँगको सम्बन्ध ठिक नरहेको बेला भारतीय गुप्तचर प्रमुख नेपाल आउनु र प्रधानमन्त्री ओलीसँग भेट्नुले नेपाल–भारत सम्बन्धमा नयाँ कोर्स शुरु हुने संकेत देखिएको छ।
यद्यपी गोयलको नेपाल आगमनबारे नेपाल सरकार र भारतीय दूतावासले केही बताएको छैन।
नेपालले आफ्नो भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले आपत्ति जनाएको थियो। नेपालले वार्ताको प्रस्ताव गर्दा भारतले त्यसलाई महत्व दिएको थिएन।
आगामी नोभेम्बर पहिलो साता भारतीय थलसेना प्रमुख नेपाल आउने तय भइसकेको अवस्थामा गुप्तचर प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका हुन्। भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन्।
नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेर सडकै बनाए पछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयल आज बुधबार काठमाण्डौं आएका छन् । उनी भारतीय वायुसेवाको विमानबाट काठमाण्डौ आएका हुन् । उनी ९ जनाको टोली रहेको बताइएको छ ।
भारतीय सेनापति मुकुन्द नरवाणे काठमाण्डौं आउने निश्चित भएका बेला रअ प्रमुख काठमाण्डौ आएका हुन् । भारतीय सेनापति आगामी कार्तिक १८ गते काठमाण्डौ आउने छन् ।
गोयल भोली स्वदेश फर्कने जनाईएको छ । रअ प्रमुख गोयल यस अघि अघिल्लो बर्ष पनि नेपाल आएका थिए ।
६ कात्तिक २०७७, बिहीवार १०:०० बजे प्रकाशित
						 




