रातिदेखि भारी वर्षा, विशेष सतर्कता अपनाउन अपिल (कुन कुन प्रदेशमा बढी खतरा ?)
रातिदेखि नै देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश १ को झापामा भने भारी वर्षा भइरहेको छ।
उनका अनुसार सोमबार राति पोखरा, चितवन र धादिङमा भारी वर्षा भएको थियो। अहिले भने कम भइसकेको छ। अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद् शाक्यले जानकारी दिइन्।
काठमाडौं उपत्यकामा पनि मंगलबार बिहानै ३ बजेदेखि वर्षा भइरहेको उनले बताइन्। ‘यो अझै केहीबेर जारी रहने अनुमान छ।’
फेरि दिउँसो पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १ , प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श( प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
३० भदौ २०७७, मंगलवार ०६:४९ बजे प्रकाशित





