कोभिड केन्द्रित शैक्षिक क्यालेण्डर बनाउन विश्वविद्यालयहरुलाई निर्देशन

शिक्षा मन्त्रालयले विश्वविद्यालयहरुलाई छ महिनाका लागि कोभिड केन्द्रित शैक्षिक क्यालेण्डर तयार गरी सार्वजनिक गर्न निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्चुअल पत्रकार सम्मेलन गर्दै निर्देशनको विषयमा जानकारी दिए ।
मन्त्री पोखरेलले निर्देशनअनुसार मन्त्रालयमा कार्यतालिका प्राप्त भइसकेको पनि बताए । विद्यालय अवरुद्ध भएपनि विद्यार्थीको सिकाइ अवरुद्ध हुनुहुँदैन भन्ने सैद्धान्तिक मान्यताअनुसार अघि बढ्ने र नियमित शिक्षा र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाइ सिकाइलाई सुनिश्चित गर्नु नै अहिलेको निकास भएको उनले बताए ।
विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिना वितिसकेको अवस्थामा अहिलेको पाठ्यक्रमलाई अगाडि बढाउन कठिन हुने देखिएकोले विद्यालय शिक्षाका पाठ्यक्रमको संश्लेषण गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले बताए ।
अत्यावश्यक विषयवस्तु समेटने गरी पाठ्यक्रमको संश्लेषित कार्यढाँचा जारी गरिने उनले बताए । यही भदौ महिनाभित्र संश्लेषित पाठ्यक्रम विद्यालयहरुलाई उपलब्ध गराइसक्ने पनि मन्त्री पोखरेलले बताए ।
२४ भदौ २०७७, बुधवार १५:०९ बजे प्रकाशित