बामदेव होइन म राष्ट्रिय सभा सदस्य हुनपर्छ भन्दै प्रधानमन्त्रीलाई तारा बरालको निवेदन

बामदेव होइन म राष्ट्रिय सभा सदस्य हुनपर्छ भन्दै प्रधानमन्त्रीलाई तारा बरालको निवेदन दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा ले राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यका लागि उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा प्राधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको बताएका थिए ।
तर गौतमको सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान आग्रह गर्दै चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिएकी हुन् । स्थायी घर चितवनमा रहेकी बराल हाल कीर्तिपुरमा बस्दै आएकी विद्यार्थी हुन् ।
त्रिविको मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी बरालले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताइन् ।
‘वामदेव गौतमभन्दा आफू योग्य भएकाले राष्ट्रिय सभामा नियुक्त गरिपाऊँ भनेर निवेदन दिएकी हुँ’ बरालले भनिन्, ‘पटकपटक चुनाव हारेका वामदेव गौतमभन्दा कोही योग्य व्यक्ति नभेटेको भए उहाँभन्दा योग्य म छु भनेर जानकारी दिन निवेदन दिएकी हुँ, अब उहाँहरूले के गर्नुहुन्छ ।’
उनले मुलुकको प्रतिष्ठित संसदको रूपमा रहेको राष्ट्रिय सभा हार्नेहरूको आश्रयस्थल बन्न लागेकोले संसदको गरिमा जोगाउनको लागि आफूलाई सांसदको रूपमा मनोनयन गर्न माग गर्नुपरेको बताइन् ।
नेपालको संविधानको धारा ८७ ले राष्ट्रिय सभाको सदस्यको योग्यताको बारेमा उल्लेख गरेको छ ।
सो धाराले राषट्रिय सभाको सदस्य बन्नको लागि नेपालको नागरिक भएको हुनुपर्ने, पैंतीस वर्ष उमेर पूरा, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने उल्लेख छ । बरालले आफूसँग यो पाँचैवटा योग्यता पूरा भएको बताएकी छन् ।
उनले भनिन् ‘संविधानले मागेको सबै योग्यता मसँग छ, वामदेवजी जनताले मन नपराएका नेता हुन्, म जनतासँग मत माग्न नगएको नेपाली नागरिक हुँ । त्यसैले उहाँभन्दा मेरै योग्यता बढी छ । यही भएर मैले राष्ट्रिय सभा सदस्यमा दाबी गरेकी हुँ । ‘
संविधानले राष्ट्रिय सभामा मनोनयन गर्न कुनै पनि पार्टीको सदस्य बन्नुपर्ने उल्लेख नगरेको र हारेकाहरू थुप्रिएर राष्ट्रिय सभाको गरिमा नबढ्ने उनले जिकिर गरिन् ।
वामदेव गौतम संघीय सांसदको लागि भएको पछिल्लो पटकको चुनावमा बर्दिया क्षेत्र नं १ बाट काँग्रेस सांसद सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।
राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने सिटमध्ये निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको समय सकिएपछि बामदेव गौतमलाई सो ठाउँमा लैजाने निर्णय नेकपाले गरेको छ ।
२१ भदौ २०७७, आइतवार १६:३४ बजे प्रकाशित