केही खुकुलो बनाएर थप एक साता निषेधाज्ञा गर्न सहमत

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् ।

उपत्यकामा कोभिड–१९ कोरोना भाइरस० संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ ।

तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको छ ।

एक प्रमुख जिल्ला अधिकारीले भने ‘ एक साता निषेधाज्ञा गर्नेम सहमति भएको छ । तर, मोडालिटी तय गरेर गृह मन्त्रालयमा पेश गर्ने निर्णय भएको छ ।’

हालसम्म भएको छलफलअनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ । ‘निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने भन्ने छ’, एक अधिकारीले भने ।

तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि नै हुनेछ । ‘हामी एकखाले निर्णयमा पुगिसकेका छौं, भोलि यसबारे गृहमा छलफल गरेर निर्णय हुन्छ’, काठमाडौंका सीडीओ दाहाल भन्छन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

दोस्रो पटक निषेधाज्ञा थप्ने निर्णय पनि निषेधाज्ञा सकिने दिन मात्र गरिएको थियो ।

१६ भदौ २०७७, मंगलवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु