मेयर शाक्यको गूनासो- जनतालाई जोगाउन खोज्दा आफैं संक्रमित भएँ
काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणलाई जितेर फर्किने बताएका छन् ।
उनले आफूलाई सोमबार संक्रमण पुष्टि भएको जानकारी दिए । मेयर शाक्यले काठमाण्डु उपत्यकावासीलाई कोरोनाको कहरबाट जोगाउने प्रयास गर्दा आफैं संक्रमित हुन पुगेको बताएका छन् ।
‘मलाई अहिले कुनै पनि लक्षण देखिएको छैन् । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना गरेर बसिरहेका छौं । जनताको कामलाई सर्वोपरी ठानी निरन्तर समर्पित हुने सिलसिलामा म संक्रमित भएको हुँ’, उनले भनेका छन् ।
त्यस्ते उनले आइसोलेसनमा भए पनि काठमाण्डु महानगरका जनप्रतिनिधि र कर्मचारीको सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।
‘होम आइसोलेसनमा रहे पनि काठमाण्डु महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अबस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु ।’
उनले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईं एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गरेका छन् ।
यी हुन कोरोना ‘हटस्पट’ १२ जिल्ला, जहाँ ५०० बढी संक्रमित उपचाररत छन
‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले भनेका छन् ।
मेयर शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गराउन पनि आग्रह गरेका छन् ।
१६ भदौ २०७७, मंगलवार १६:१७ बजे प्रकाशित





