भारतीय राजदूतको बढ्यो सक्रियता, प्रचण्ड-माधवसँग छुट्टाछुट्टै संवाद
सीमाबारे नेपालले गरेको वार्ता प्रस्ताव नकार्दै
काठमाडौंस्थित भारतीय राजदूतले सक्रियता बढाएका छन्।
२०७६ कात्तिकमा नेपाली भूमि समेटेर भारतले नक्सा जारी गरेपछि बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासस्वरुप भारतीय राजदूतले विशेष गरी सत्तारुढ दलका नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका हुन्।
भारतीय राजदूत विनय मोहन क्वात्राले राजनीतिक भेटघाटलाई बढाउने क्रममा सत्तारुढ दलका शीर्ष नेताहरुलाई उनीहरुकै निवाससम्म पुगेर छलफल गरेका हुन्।
अगस्ट १५ मा प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन सम्वाद भएपछि राजदूतले सम्बन्ध सुधार्ने प्रयासस्वरुप भेटघाट अघि बढाएका हुन्।
यसबीचमा उनले सत्तारुढ नेकपाका दुई शीर्ष नेताहरुलाई भेटेको खुलेको छ।
उनले यही सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमै पुगेर भेटघाट गरेका छन्।
नेकपाभित्र देखिएको विवाद समाधानको दिशामा गइरहेको अवस्थामा भारतीय राजदूतले राजनीतिक सक्रियता बढाएका हुन्।
ओलीले गत बुधबार नेकपाको विवाद पाँच दिनभित्र मिल्ने दिशामा अघि बढ्ने बताएका थिए।
त्यस्तै अध्यक्ष दाहालले पनि हिजो बुधबार नेकपाको विवाद अबको साता दिनमा किनारा नै लाग्ने बताएका छन्।
राजदूत क्वात्राले सोमबार अध्यक्ष दाहाललाई भेटे लगत्तै मंगलबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनको निवास कोटेश्वर पुगेर भेटेका छन्।
दुवै नेताको सचिवालयले राजदूत क्वात्रासँग दुई देशबीचको सम्बन्धन तथा समसामयिक राजनीतिक मुद्दा र सीमा विवाद पनि कुराकानी भएको बताएका छन्।
भेटका क्रममा राजदूत क्वात्राले सीमा विवाद दुई देशको उच्च तहबाट हल गर्नुपर्ने बताएको स्रोतको दाबी छ।
सीमा विवाद हलका लागि हाल परराष्ट्र सचिवस्तरीय वार्ता संयन्त्र पनि छ। तर नेपालले कर्मचारीको तहबाट नभइ राजनीतिक तहमै सीमा विवाद समाधानका लागि संवाद आवश्यक रहेको बताउँदै आएको छ।
तर भारतले नेपालले पटक पटक गरेको वार्ता प्रस्तावलाई नकार्दै आएको छ।
४ भदौ २०७७, बिहीवार १७:२७ बजे प्रकाशित





