अब ‘मर्निङ वाक’ निस्के पनि कारवाही

लकडाउन भन्दा अझ कडा हुनेछ निषेधाज्ञा

काठमाडौँ उपत्यका भित्र मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै, एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाएको हो भने कारवाहीमा पर्न सकिने भएको छ।

रातिदेखि लागु हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाई गर्ने छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुन्छ ।’

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई छ महिनासम्म कैद वा ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन ।

त्यसैले बन्दाबन्दी लागु हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए। आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए।

उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ ।

राति १२ः०० बजेदेखि अत्यावश्यकबाहेकका गतिविधि गर्न पाइने छैन । उक्त आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम काठमाडौँ उपत्यकामा लागु हुने गरी उक्त निर्णय गरिएको हो ।

अनावश्यकरुपमा मानिस घरबाट निस्किए कारवाही हुनेछ । सार्वजनिक तथा नीजि सवारीसाधनसमेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधीजन्यबाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

कोभिड १९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ ।

अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० बजेसम्म र बेलुका ३ः०० देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। त्यसबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

३ भदौ २०७७, बुधवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु