कर्णाली नदीमा पानीको बहाब बढेपछि नदी छेउका बासिन्दा चिन्तित

४ असार, दैलेख । लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाब बढेपछि स्थानीयहरु चिन्तित बन्न थालेका छन् ।

पानीको बहाब बढेसँगै दैलेखको नदी छेउछाउमा रहेका बस्तीका बासिन्दाहरु वैकल्पिक उपाय खोज्न थालेको स्थानीय रमेश रावतले बताए ।

नदीमा पानीको बहाब बढेपछि छेउछाउका बस्तीमा असर पार्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभरका सर्वसाधरणहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

दैलेख जिल्लास्थित कर्णाली नदी, लोहोरे, छामघाट, रामाघाट, कट्टी, पादुका खोला लगाएत नदी र खोलामा पानीको बहाब बढ्न गइ तटीय क्षेत्रमा बाढी आउन सक्ने र भिरालो ठाउँमा पहिरो जानसक्ने जोखिम रहेको प्रशासनले जनाएको छ ।

प्रशासनले तटीय क्षेत्र र भिरालो ठाउँमा बस्ने नागरिकहरुलाई सम्भावित विपद्को जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यस वर्षको मनसुन लामो अवधीसम्म रहने देखिन्छ । दैलेख प्रशासनद्धारा जारी सूचनामा यस वर्ष धेरै वर्षात हुने र जस कारण धनजनको ठूलो क्षति हुनसक्ने सम्भावना औंल्याइएको छ ।

४ असार २०७८, शुक्रवार १४:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु