मोरङमा ब्राउन सुगरसहित चारजना पक्राउ

४ असार, विराटनगर । मोरङको अलगअलग स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ ।
पथरीशनिश्चरे नगरपालिकाबाट दुई र कानेपोखरी गाउँपालिकाबाट दुईजना पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान पथरी शनिश्चरे–१ स्थित सिनेमा हल नजिकबाट ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाल पक्राउ परेका हुन् ।
पक्राउ परेकाको साथबाट प्रहरीले १३ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर र तौल लिने डिजिटल मेसिन बरामद गरेको एसपी श्रैष्ठले बताए ।
उनका अनुसार बिक्री गर्दा तौल लिने मेसिनसमेत साथबाटै फेला परेका कारण पक्राउ परेकाहरु लागुऔषध ब्राउन सुगरका कारोबारी भएको खुलेको छ ।
त्यस्तै प्रहरीले बिहीबार राति १०ः३० बजेतिर कानेपोखरी–२ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई पक्राउ गरेको छ।
एसपी श्रेष्ठका अनुसार पक्राउ परेकाको साथबाट दुई ग्राम चार सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
४ असार २०७८, शुक्रवार १५:१० बजे प्रकाशित