बाढीले रुपन्देहीको तिनाउका दर्जनौं बस्ती जोखिममा

रुपन्देहीको तिनाउ र दानव नदीमा आएको बाढीले नदी किनारका दर्जनौं बस्ती उच्च जोखिममा परेका छन् ।
बाढीले नदी किनारमा तीब्र रुपले कटान गर्न थालेपछि कयौं घर परिवार बिस्थापित भएका छन भने दर्जनौ घरमा क्षति पुगेको छ ।
तिनाउ र दानव नदीमा आएको बाढीको तीब्र बहावका कारण बुटवलका सुन्दरनगर, पबित्रनगर, देवीनगर, माझगाँउ, बुद्धनगर, बिनापाते लगाएतका बस्तीका कयौं घरमा बाढी पसेर क्षती पुराएको छ ।
यसैगरी सिमानगर, सिर्जनानगर, मैनाबगरलगायत क्षेत्रमा पनि बाढीका कारण क्षति पुगेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले बाढीका कारण तिनाउ नदी किनारको एक घर पूर्णरुपले बगाएको र दर्जनौं घरमा बाढी पसेर क्षति पुगेको बताएका छन् ।
बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनालले तिनाउमा आएको बाढीले देवीनगर र रानीगन्जमा दर्जनौं घरमा पसेर क्षति पुराएको बताए । खनालका अनुसार तिनाउ किनारको एउटा घर बगाएको छ ।
२ असार २०७८, बुधवार १७:२८ बजे प्रकाशित