‘यास चक्रवात’को प्रभावले नेपालका केही ठाउँमा भीषण वर्षा हुने सम्भावना

११ जेठ,  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा रहेको ‘यास चक्रवात’को प्रभाव नेपालमा पनि देखिन थालेसँगै भोलिदेखि केही ठाउँमा भीषण वर्षा हुने सम्भावना औंल्याएको छ ।

लुम्बिनी प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म नै बादलका रुपमा ‘यास चक्रवात’को प्रभाव देखिन थालेको महाशाखाको भनाइ छ । चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

बङ्गालको खाडीमा रहेको चक्रवात आज र भोलि शक्तिशाली बनेर उत्तरपश्चिमतर्फ जाने देखिएको महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव अबका केही दिन नेपालमा पनि देखिने भन्दै महाशाखाले विशेष बुलेटिनमार्फत सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेको छ ।

चक्रवातको कारण आज दिउँसोपछि वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली÷पहाडी भूभागका केही ठाउँमा हिमपात र हावाहुरी लाग्ने सम्भावना रहेको छ ।

भोलिदेखि केही दिन देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ । पर्सि बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हिमाली क्षेत्रमा हिमपात र तीव्र गतिको हावा चल्ने सम्भावना रहेकाले अबका केही दिन हिमाल आरोहणमा नजान र हिमाल छेउमा भएकाहरुले सुरक्षित रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

११ जेठ २०७८, मंगलवार ११:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु