चिनियाँ र भारतीय सेनाबीच लद्दाखमा फेरि झडप
जनमुक्ति सेनाले सहमति उल्लंघन गरेका भारतको आरोप
भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ। भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको हो।
चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ।
चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको बताइएको छ।
चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताएका छन्।
भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीहिन्दीले जनाएको छ।
साथै यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन।
भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको विषयमा जानकारी दिएको छ।
ब्युरोले भनेको छ,‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहट कदमलाई रोकिदिएको छ। भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ। साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ। यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ।’
भारतीय सेनाका अनुसार हालैको झडप दुईदिन अगाडि अगष्ट २९ को राति भएको थियो। चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितीलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दै त्यस्तो हुन नदिएको भारतीय सेनाको भनाइ छ।
१५ भदौ २०७७, सोमवार १२:१० बजे प्रकाशित




