अमेरिका निर्वाचन २०२० डेमोक्र्याटिक पार्टीको सम्मेलनमा रिपब्लिकन नेताद्वारा जो बाइडनलाई समर्थन

डेमोक्र्याटिक पार्टीको सम्मेलनले जो बाइडनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा उनी र पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ।

डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टन र जिमी कार्टर तथा रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहेका कोलिन पावलले जो बाइडनलाई समर्थन गरेका छन्।

बाइडन ह्वाइट हाउस जान तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन्। मतसर्वेक्षणमा उनले ट्रम्पलाई पछाडि पारेका छन्।

अमेरिका निर्वाचन २०२० को मत सर्वेक्षणमा को अगाडि – डोनल्ड ट्रम्प कि जो बाइडनरु
बहुमत नल्याए पनि कसरी अमेरिकाको राष्ट्रपति बन्न सकिन्छ
डेमोक्र्याटिक पार्टीको सम्मेलनको दोस्रो दिन मङ्गलवार राति क्लिन्टनले सम्बोधन गरेका थिए।

भिडिओमार्फत् पठाइएको सन्देशमा उनले ट्र्म्पको आलोचना गरे।

क्लिन्टनले ट्रम्पले ओभल अफिसलाई “लथालिङ्ग” बनाएको टिप्पणी गरे।

डोनल्ड ट्रम्पले अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको दाबी गरे पनि प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकामा बेरोजगारी दर तीनगुना भएको भन्दै क्लिन्टनले भने, “यो समयमा ओभल अफिस नेतृत्वको केन्द्र हुनुपर्थ्यो। तर त्यो आँधीको केन्द्र भएको छ। त्यो लथालिङ्ग छ।”

पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामा र सिनेटर बर्नी स्यान्डर्सले सोमवार सम्बोधन गरेका थिए।

मङ्गलवारका वक्ताहरूले मतदाताहरूलाई डेमोक्र्याटिक पार्टी कसरी स्वदेश र विदेशमा विद्यमान समस्याहरू समाधान गर्न उपयुक्त छ भनेर विश्वस्त पार्न खोजेका थिए।

अमेरिका सेनाका पूर्वप्रमुख पावलले बाइडनको प्रशंसा गर्दै उनमा सैन्य सेवामा हुँदा सिकेको मूल्य र मान्यता भएका बताए।

ती मान्यताहरू “पुनर्स्थापित गर्नुपरेकाले” आफूले बाइडनलाई समर्थन गरेको उनको स्पष्टोक्ति थियो।

जोर्ज डब्ल्यू बुशको सरकारमा काम गरेका पावलले गत जुन महिनामा ट्रम्पलाई “ढँटुवा” भन्दै बाइडनलाई समर्थन गरेका थिए।

अरू छ रिपब्लिकन नेताहरूले पनि बाइडनलाई समर्थन गरेका छन्। ओहायो राज्यका गभर्नर जोन कासिचले सोमवार डेमोक्र्याटिक उम्मेदवार बाइडनलाई सघाउने घोषणा गरे।

बराक ओबामाको सरकारमा विदेशमन्त्री रहेका जोन केरीले पनि सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पको आलोचना गरे।

बाइडनले विश्व बुझेको भन्दै केरीले राष्ट्रहरूलाई एक ठाउँ नल्याई कुनै पनि समस्या समाधान भनाइ राखे।

ट्रम्पले आफूसँग असन्तुष्ट रिपब्लिकन नेताहरूको ट्विटरमा आलोचना गरेका छन्।

उनले बाइडनलाई “वामपन्थी अतिवादीहरूको कठपुतली” भन्ने गरेका छन्।

डेमोक्र्याटिक पार्टीको सम्मेलन बिहीवारसम्म चल्नेछ।

उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस, गत निर्वाचनमा राष्ट्रपतीय उम्मेदवार बनेकी हिलरी क्लिन्टर र भूतपूर्व राष्ट्रपति बराक ओबामाले पनि सम्मेलनमा सम्बोधन गर्नेछन्।

कोरोनाभाइरसका कारण यो वर्षको सम्मेलन इन्टरनेटको माध्यमबाट भइरहेको छ।

३ भदौ २०७७, बुधवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु