अनन्तलिङ्गेश्वरमा धान्य मेला लाग्दै
विमल कुमार थापा । भक्तपुर, मंसीर २५ । भक्तपुर जिल्लाको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १० स्थित अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा आगामी धान्य पूर्णिमामा धान्य मेला लाग्ने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको वार्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम २०७२ साल पौष १० गते धान्यपूर्णिमाका दिन अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा धान्य मेला आयोजना हुन गइरहेको हो ।
श्री अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिका उपाध्यक्ष देवीप्रसाद न्यौपानेका अनुसार धान्यपूर्णिमाको दिन अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा यज्ञ हवन र विशेष पूजा अर्चना गरी रात्री समयमा द्विप तथा सवा लाख द्विप प्रज्ज्वलन गरी अनन्तलिङ्गेश्वर महादेवको आराधना गरी रात्रीमा भजनकिर्तन गर्ने कार्यक्रम रहेको छ ।
प्राचीन कालदेखि चल्दै आएको यो मेला हाल केही बर्षयता प्राय बन्द भएको थियो । तर, सबै भक्तजनहरुको सत्इच्छा अनुसार यो प्राचीन कालदेखि चलिआएको धान्यपूर्णिमा मेला पुनः धुमधामका साथ सञ्चालन गर्ने निर्णय भएअनुसार यहि २०७२ साल पौष १० गते शुक्रबारका दिन यो मेला अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा सञ्चालन हुने भएको छ ।
समस्त हिन्दूहरुको अति पवित्र तीर्थस्थल आराध्यदेव पशुपतिनाथ मन्दिर भन्दा करिब १३ किलोमिटर दक्षिणपूर्वी कुनामा रहेको भक्तपुर जिल्ला साविक दधिकोट गाविस वडा नं. ४ हाल अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १० स्थित ऐतिहासिक महत्व बोकेको अनन्तलिङ्गेश्वर महादेव आजभन्दा झण्डै १३०० बर्ष पहिले लिच्छवि राजा नरेन्द्रदेवले जिर्णाेद्धार गर्न लगाएको भन्ने मन्दिर परिसरमा गाडिएको शिलालेखमा उल्लेख भएको तथ्य स्थापित भएको पाइन्छ । उक्त शिलालेखमा उल्लेख भएअनुसार यो महादेवको नाम लोकपाल स्वामि भएको प्रतित हुन्छ ।
धान्यपूर्णिमा मेलाको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट समुद्घाटन हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
२५ मंसिर २०७२, शुक्रवार १४:५० बजे प्रकाशित