तिलिचोमा घुमफिर गर्दै पर्यटन मन्त्री भट्टराई

पर्यटन मन्त्री योगेश भट्राईले सर्वाधिक उचाइमा रहेको तिलिचो तालको अवलोकन तथा भ्रमण गरेका छन् ।
मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन गुरुङको विशेष अनुरोधमा पर्यटन मन्त्री भट्टराईले शनिबार तिलिचो तालको अवलोकन तथा भ्रमण गरेका हुन् ।
मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९, अन्तर्गत समुन्द्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो तालमा मन्त्री भट्टराई हेलिकप्टरबाट पुगेका हुन् । पर्यटन मन्त्री भट्टराई तिलिचो पुगेकै बेला तालको संरक्षण, प्रवद्र्धन र आवश्यक संरचना निर्माणका लागि मनाङको ङिस्याङ गाउँपालिकाले ज्ञापनपत्र समेत बुझाएको छ ।
गाउँपालिका अध्यक्ष कान्छा घलेले मन्त्री भट्टराईलाई तिलिचो ताल विकास निर्माण सम्वन्धी आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मन्त्रीसहितको टोलीले तिलिचोसँगै माथिल्लो मनाङमा रहेको गंगापूर्ण तालको समेत अवलोकन भ्रमण गरेको थियो । मन्त्री भट्टराईसँगै सांसद पोल्देन छोपाङ गुरुङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, उपाध्यक्ष मेंख्यु गुरुङ, प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीलगायत सहभागी थिए ।
मन्त्री भट्टराईको अवलोकन भ्रमण पछि पछिल्लो समय अत्याधिक पर्यटकलाई आकर्षण गरेको तिलिचो तालमा पर्यटकीय संरचना निर्माण हुने जिल्ला बासीहरुले अपेक्षा गरेका छन् । संसारकै सवैभन्दा उचाइमा रहेको तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटरको दूरीमा पर्छ ।
खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घण्टाको पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पमा एक रातको बासपछि झण्डै साढे तीन घण्टाको उकालो हिडेर तिलिचो ताल पुगिन्छ । दूरीको हिसावले नजिक भएपनि हाई अल्टिच्युट र जोखिमपूर्ण बाटोका कारण पर्यटकलाई कठिनाई हुने गरेको छ ।
वार्षिक हजारौंको संख्यामा भ्रमणका लागि आउने पर्यटकलाई तिलिचोसम्म पुग्ने बाटो, ताल वरपर आवश्यक पार्क, ठाउँठाउँमा आवश्यक विश्रामस्थल, शौचालयलगायतका संरचना निर्माण गर्नु आवश्यक रहेको सांसद गुरुङले बताए । सांसद गुरुङले दीर्घकालिन सोचका साथ आवश्यक संरचना निर्माण गर्न आवश्यक तयारी भइसकेको र पर्यटन मन्त्रीको भ्रमण पछि आवश्यक बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
पछिल्लो सयम तिलिचो तालसम्म बाह्य भन्दा आन्तरिक पर्यटकहरु बढी मात्रामा पुग्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौं पर्यटकहरु पछिल्लो समय तिलिचोसम्म पुग्ने गरेका छन् । कतिपय पर्यटकले गन्तव्य नै तिलिचो ताल बनाएर पनि आउने गरेका छन् ।
यात्रा कष्टकर भएपनि मनोरम हिमाली दृष्यसँगै निकै उचाइमा रहेको तालसम्म पुगेपछि साहसिक विजयीको रुपमा पनि पर्यटकहरुले लिने गरेका छन् । यद्यपी यो वर्ष भने कोभिड–१९ को प्रभावका कारण तिलिचो ताल सुनसान रहेको छ ।
संसारकै सबैभन्दा बढी उचाइमा रहेको सो तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरेको छ । कष्टकर र जोखिमपूर्ण यात्रापछि तिलिचो पुगेका पर्यटकहरु स्वर्गीय आनन्द मिलेको अनुभव सुनाउँछन् ।
तिलिचो ताल धार्मिक रुपले पनि महत्वपूर्ण मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्तीअनुसार हिन्दू धर्मावलम्बीहरु तीर्थ व्रतका लागि पनि तिलिचो पुग्ने गरेका छन् ।
मुख्यतः असोजदेखि पुस महिनासम्म तिलिचो पुग्ने उचित समय मानिन्छ भने फागुनदेखि वैसाखसम्म दोश्रो सिजनको रुपमा लिने गरिन्छ । अहिले सिजन सकिनै लाग्दापनि दैनिक बाह्य तथा आन्तरीक पर्यटकहरु तिलिचो पुग्ने गरेका छन् ।
१६ कात्तिक २०७७, आइतवार २२:१८ बजे प्रकाशित