युवा ईन्जिनियर अनिलको प्रश्न– हामी अरुले बनाएको प्रविधि मात्रै पच्छ्याइरहने ?

यस्ता धेरै उदाहरण छन् । हामीले यहिँ गर्न सक्ने सानो कामको लागि पनि विदेशी श्रम गुहानुपर्ने अवस्था छ । सामान्य यन्त्र पनि आयात गर्नुपर्ने अवस्था छ । सामान्य ‘स्वीस गेट’ पनि हामीले आयात गरिरहेका छौं । हामीले कृषिमा अझ पनि परम्परागत तौरतरिका अपनाइरहेका छौं, यान्त्रिकिकरणको जमानामा ।


ई. अनिल नेपाल
‘ईन्जियिनर साहेवहरु गाउँ छिर्न त भुकम्प नै आउनुपर्ने रैछ’ नुवाकोटमा एक जना बाजेले ठट्यौली गरे । भुकम्पपछि पुनर्निमार्णको लागि सुलभ घरको प्रविधि लिएर जाँदा भएको कटाक्ष गहिरो थियो ।
कामको सिलसिलाले विरगञ्ज चिनि मिल पुर्यायो । कुनै बेला औद्योगिकरणको प्रतिबिम्वका रुपमा रहेको सो कारखानाको जीर्ण अवस्था देखेर फेरि वाक्क बनायो ।

प्रविधिको प्रयोगले उत्पादकत्व बढेको र अर्थतन्त्रमा ठोस सहयोग गरिरहेको पढिरहेका छौं, देखिरहेका हुन्छौं । ईन्जिनियरको नाताले एउटा प्रश्नले सँधै सताइरहन्छ– के हामीसँग नयाँ सृजना गर्ने क्षमता छैन त ?, के हामी सँधै अरुले बनाइरहेको प्रविधि पच्छ्याइरहने हो त ?, के कारणले हामी हाम्रो क्षमता, हाम्रो सोँच दुई जोर कपडासँग गुटुमुटु पारेर विदेशीन बाध्य छौं ?

प्रश्नहरु गम्भिर छन् र पेचिला पनि । सरसर्ती हेर्दा लाग्छ हामी यी र यस्तै प्रश्नहरुबाट पन्छिरहेका छौं, बिभिन्न कुराहरुको आडमा । एउटा सत्य तर तितो कुरा यसरि भागिरहने हो भने हामीले सुनौलो भविष्यको सपना सोच्न बन्द गरे भो, आशा मारे भो, हात बाँधेर भगवान भरोसे बाँच्न थाले भो ।
ईन्जिनियर भएको नाताले म ईन्जिनियरिङ दृष्टिकोणबाट लेखिरहेको छु । परिवर्तनको सुरुवात ईन्जिनियरहरुबाट सुरु गर्नुपर्छ भन्ने मेरो आशा हो, गर्नु पनि पर्छ ।

सामान्य रुपमा हेर्दा पनि ज्ञान र दक्षताको हिसावले ईन्जिनियर लगायत आफ्नै पेशाका हामी मुठ्ठिभरका छौं । यसरी हेर्दा हामी देशका ऐना हौं । हामीले प्रगति गरे देशको प्रगति हुने हो, नगरे दुर्गति ।
अझ समयले हामीलाई विशिष्ट जिम्मेवारी सुम्पिएको छ । राजनैतिक कुनै पनि संक्रमणमा हामी अल्झिएका छैनौं । देश स्थाइत्वतिर गइरहको छ । हामीसँग जमात पनि बढिरहेको अवस्था छ ।
सूचना प्रविधिको पहुँचसँगै ज्ञानको असिमित भण्डार हाम्रो औंलामा छ ।

अब विकल्प छैन् । पानी माथीको ओभानो हुने छुट हामीसँग छैन् । यहि समय हो मेहनत गर्ने, आफ्नो ज्ञान क्षमता र सृजनाको अधिकत्तम प्रयोग गर्ने, एक अर्काको परिपुरक बन्ने ।
अब के छैन र के छ भन्ने घेरामा पुरिनु भन्दा भएको कुरालाई सम्हाल्दै, संगतलाई बढाउँदै लाने हो र नभएको कुरा बनाउँदै लाने हो ।

ईतिहास साक्षी छ, युवा जगतको सोच र कार्यले देशहरु कायापलट भएका छन् । जर्मनि, कोरिया, जापान, चिली, भियतनामदेखि हाम्रो छिमेकी भारत र चीन सबैले प्रविधिको आडमा काँचुली फेरेका हुन् ।
नेपालको अवस्था पनि त्यति सारो नाजुक छैन् । नेपाली ईन्जिनियरहरुले बनाएको चिलिमे हाइड्रोपावर यसको ज्वलन्त उहाहरण हो ।

नेपाली ईन्जिनियरहरुले बनाएको ‘पिको भिको र पाइला टेक्नोलोजी’ले भविष्य कस्तो हुन सक्छ भन्ने दृष्टान्त कोरेको छ । नेपाली नागरिकहरुले विश्वप्रतिष्ठित ‘नाशा, चेभरोलेट’ आदिमा नाम कमाएको दृष्टान्त पनि थुप्रै छन् ।

गर्नुपर्छ भन्दै गर्दा बढि सैद्धान्तिक सुनिन्छ । कसरि गर्ने भन्ने कुरा महत्वपूर्ण हो । सम्पूर्ण ईन्जिनियरहरुले र धैर्यता राखी आफ्नो ज्ञान, सिप र क्षमतामा विश्वास गरेसँगै यसको पहिलो खुड्किलो पार हुन्छ ।

दोस्रो ईन्जिनियरिङका छाता संगठन नेपाल ईन्जिनियरिङ काउन्सील र नेपाल ईन्जिनियरिङ एसोसियसनको धरातलिय क्रियाशीलता बढाउन जरुरी छ । ईन्जिनियरहरु किन घेरा माथि उठ्न सकिरहेका छैनन् । किँन विदेशिन बाध्य छन् त्यसको सुक्ष्म विश्लेषण हुन जरुरी छ ।

सम्पूर्ण ईन्जिनियरहरुको सक्रियतामा त्यस्तो विश्लेषण गर्न सकिएमा समस्याको समाधानका ढोकाहरु खुल्दै जाने छन् । वस्तुगत र ब्यवहारिक कठिनाईहरुलाई सम्बोधन हुने गरि कार्ययोजना तर्जुमा गर्ने हो भने यहिँ उपलब्ध सीप, स्रोत र साधनको प्रयोग गरेर फड्को मार्न सकिन्छ भन्नेमा संसय छैन् ।

सरकारको तर्फबाट पनि सकिने धेरै कुराहरु छन् । जस्तो कि दक्षिण कोरियाले आफ्ना प्रविधिहरु बाहिर पठाएर सिप सिक्न लगाई त्यसको उपयोग देशभित्रै गर्न निकै नै सफल नीति अख्तियार गरि कार्यान्वयन गरेको थियो । हामीकहाँ पनि त्यस्तै गर्न सकिन्छ ।

सरकारको तर्फबाट ईन्जिनियरहरुका लागि ‘इक्नुभेसन सेन्टर’स्थापना गरि ब्यवसायिकतातर्फ उन्मुख गर्न सकिन्छ । 

(लेखक नेपाल– नेपाल ईन्जिनियरिङ एसोसियसन (नेईए) का केन्द्रिय कार्यकारिणि समिति सदस्य पदका प्रगतिशील तर्फका उम्मेदवार हुन् ।)

२६ मंसिर २०७५, बुधवार १४:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु