रियल मड्रीड र युभेन्ट्स च्याम्पियन्स लिग फुटबलबाट बाहिरिए
स्पेनिस क्लब रियल मड्रीड र इटालियन क्लब युभेन्ट्स यूरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएका छन् । गएराति सम्पन्न दोस्रो लेगको खेलमा रियल मड्रिड म्यानचेस्टर सिटीसँग पराजित भएको हो भने युभेन्ट्स लियोन विरुद्ध दोस्रो लेगमा जीतका बाबजुद पनि क्वाटरफाइनलको यात्रा तय गर्न असफल रहेको हो ।
पहिलो खेलमा म्यान्चेस्टर सिटीले रियल मड्रीडलाई २(१ ले हरायो । खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा रियलका करिम बेन्जेमाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको थियो । ६८औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।
सिटीले पहिलो लेगमा पनि रियललाई उसैको मैदानमा २(१ ले हराएको थियो । समग्रमा ४(२ को जीत निकाल्दै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यस्तै अर्को खेलमा युभेन्ट्सले लियोनलाई २(१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा उसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । खेलमा अग्रता भने मेम्फिस डिपायको गोलमार्फत लियोनले लिएको थियो । उनले पेनाल्टीमार्फत् १२औं मिनेटमा गोल गरेका थिए । ४३औं मिनेटमा रोनाल्डोले पनि पेनाल्टिमार्फत् बराबरी गोल फर्काएका थिए भने ६०औं मिनेटमा पुनः उनैले गोल थपेका थिए ।
पहिलो लेगमा १(० ले पराजित भएको युभेन्ट्स जीतका बाबजुद पनि अवे गोलका आधारमा पछि पर्दै स्तब्ध बनेको छ । समग्रमा २(२ को बराबरी भएतापनि खेल बराबरी भएमा अवे गोलका आधारमा खेलको निर्णय हुने प्रावधान रहेको छ । लियोनले गएराति युभेन्ट्सको मैदानमा एक गोल गरेको तर लियोनको मैदानमा भएको खेलमा युभेन्ट्सले कुनै गोल गरेको थिएन । त्यसकारण युभेन्ट्सको यस सिजनको च्याम्पियन्स् लिगको यात्रा अन्तिम १६ बाटै टुंगिएको छ ।
अब क्वाटरफाइनल खेलमा लियोन र म्यान्चेस्टर सिटी प्रतिस्पर्धा गर्नेछन् ।
२४ साउन २०७७, शनिवार ०७:०८ बजे प्रकाशित





