शहीद स्मारक बी डिभिजन लिग आजबाट सुरु

एक वर्ष अघि कोरोना महामारीका कारण रोकिएको शहीद स्मारक बी डिभिजन लिग आजबाट सुरु भएको छ ।

अघिल्लो वर्ष बी डिभिजन लिगको छैठौं चरणको खेल चलिरहँदा राष्ट्रिय खेलकुद परिषदले खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई स्थगित गर्न निर्देशन दिएपछि लिग स्थगित भएको थियो ।

आजबाट सुरु भएको लिगमा नयाँबस्ती युवा क्लबले जित निकाल्दै सुखद सुरुवात गरेको हो। छैठौ चरणको तेस्रो खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनमाथि २.१ गोलअन्तरले जित निकालेको हो ।

पहिलो हाफमा सचु गुरुङको गोलमा नयाँबस्तीले अग्रता बनाएको थियो ।

उनले खेलको ८ औं मिनेटमा अग्रता बनाएका थिए। दोस्रो हाफमा मध्यपुरले खेल बराबरीमा ल्यायो। खेलको ६७ औं मिनेटमा मध्यपुरका लागि भुपाल सिंह गुरुङ्ले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यस्तै नयाँबस्तीका लागि ७८ औं मिनेटमा ३७ नम्बरका अबय धिमालले गोल गर्दै नयाँबस्तीलाई फेरि अग्रता दिलाए। नयाँबस्तीको जितका लागि यही गोल निर्णायक बन्न पुग्यो ।

जितसँगै नयाँबस्ती युवा क्लब ६ खेलबाट ११ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । त्यस्तै १ अंकम जोडेको मध्यपुर तालिकाको सातौं स्थानमा छ।

प्रतियोगितामा सहभागी टिमहरुमा बोइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँबस्ती युवा क्लब, झम्सीखेल युथ क्लब, आरसिटी, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस् क्लब, बाँसबारी युथ क्लब र श्री कुमारी क्लब रहेका छन् ।

११ फागुन २०७७, मंगलवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु