ला लिगा : बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकियो

मेसीले पेलेको कीर्तिमान बराबरी गरेको स्पानिस ला लिगाको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ ।

लिगअन्तर्गत शनिबार भएको खेलमा दुवै टोलीले एक एक पटक अग्रता लिए पनि अन्त्यमा खेल २-२ को बराबरीमा सकियो ।

घरेलु मैदानमा बराबरी खेलेपछि बार्सिलोनाले यस सिजन सातौं पटक अंक गुमाएको छ ।

१३ खेल खेल्दा बार्सिलोनाले ३ खेल बराबरी गर्दा ४ खेल हारेको छ । ६ खेलमा भने बार्सा विजयी भएको छ ।

क्याम्प नोउमा भएको खेलको २९औं मिनेटमा माउटार डिएखाबीले गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाएका थिए । त्यसपछि बार्सिलोनाले लगातार दुई गोल गर्द अग्रता बनायो । अन्त्यमा भ्यालेन्सियाले बराबरी गोल फर्कायो ।

पहिलो हाफको इन्जुरी समयमा लिओनल मेसीले गोल गर्दै खेल बराबरी गरे भने पेलेले राखेको एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरे । मेसीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा ६४३ गोल गरेका छन् ।

पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका छन् । पेलेले १९ सिजन खेल्दै उक्त कीर्तिमान बनाएका थिए ।

मेसीले आफ्नो १७औं सिजनमै उक्त उपलब्धी बराबरी गरे ।

भ्यालेन्सियाविरुद्ध एक गोलले पछि परेको अवस्थामा मेसीले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल फर्काएका थिए ।

भ्यालेन्सियाका जोस गाएले एन्टोनी ग्रीजमनलाई पेनाल्टी एरियामा फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

मेसीको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलकिपर जाउमेले रोकेका थिए तर रिबाउण्डमा जोर्डी अल्बाको पासमा मेसीले गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै टिमले एक-एक गोल गरे ।

५२औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्द बार्सिलोनालाई २(१ को अग्रता दिलाएका थिए । तर ६९औं मिनेटमा म्याक्सी गोमेजले भ्यालेन्सियाका लागि बराबरी गोल गरे ।

त्यसपछि गोल नहुँदा दुवै टिमले १-१ अंक बाँडे । बराबरीपछि बार्सिलोनाले चौथो स्थानमा उक्लने मौका गुमायो ।
१३ खेलबाट २१ अंकसहित बार्सिलोना पाँचौ स्थानमै जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछि हो ।

भ्यालेन्सिया १४ खेलबाट १५ अंकसहित १२औं स्थानमा छ ।

शनिवारै बार्सिलोनाका पूर्वफरवार्ड लुइस सुअरेजले दुई गोल गरेपछि एट्लेटिकोले एल्चेलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको हो ।

सुअरेजले खेलको ४१औं र ५८औं मिनेटमा गोल गरे । यस्तै डिएगो कोस्टाले ८०औं मिनेटमा पेनाल्टीबाट गोल गरे । एल्चेका लागि ६४औं मिनेटमा लुकास बोयेले एक गोल फर्काए ।

१२ खेलबाट २९ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ । १४ खेल खेलिसकेको रियल सोसिडाड २६ अंकसहित दोस्रो स्थानमा छ ।

५ पुस २०७७, आइतवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु