बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा, उपाधीका लागी पिएसजीसँग भिड्ने
यो सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि दुई ठूला लिग च्याम्पियनबीच भिडन्त हुने भएको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा फ्रांसेली टोली ल्योनलाई ३–० ले पराजित गर्दै जर्मन च्याम्पियन टोली बायर्न म्युनिखले पेरिस सेन्ट जर्मन ९पिएसजी० सँगको उपाधि भिडन्त पक्का गरेको हो ।
फ्रान्सेली लिग च्याम्पियन्स पिएसजी मंगलबार राति नै भएको पहिलो सेमिफाइनल खेलमा जर्मन टोली लेइपजिगलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
घरेलु लिग च्याम्पियनको रुपमा छनोट भएका दुई टोलीबीच २२ वर्षपछि उपाधि भिडन्त हुन लागेको हो ।
खेलको सुरुवातमै पाएको गोलको केही राम्रा अवसर खेर फालेको ल्योनले त्यसको ठूलो मूल्य चुकायो । त्यसको तुलनामा केही कमजोर सुरुवात गरेको बायर्नले बिस्तारै खेलमा पकड बनायो ।
क्वार्टरफाइनल चरणको खेलमा स्पेनी टोली बार्सिलोनालाई ८–२ को भारी अन्तरले पराजित गरेको बायर्नले ल्योनविरुद्धको महत्वपूर्ण सेमिफाइनल खेलमा पनि आफ्नो लय कायमै राख्यो ।
सर्जि जिनाब्री एक्लैले पहिलो हाफमा दुई गोल गरेपछि बायर्न बलियो अवस्थामा देखिएको थियो । दोस्रो हाफमा रोबर्ट लेवान्दोवस्कीले टोलीका लागि अर्को एक गोल थपे ।
यी दुई खेलाडीले जारी सिजन मात्रै च्याम्पियन्स लिगमा टोलीका लागी समग्रमा २४ गोल पुर्याएका छन् ।
यो सिजन बायर्नले भने फाइनलसम्मको यात्रामा ४२ गोल गरेको छ । फाइनलमा उसको प्रतिद्वन्द्वी पिएसजीको मात्रै २५ गोल छ । ‘हामी आफ्नो रक्षापक्तीलाई मजबुत बनाउने कोसिस गर्छौं ।
तर, हाम्रो बलियो पक्ष भनेको विपक्षी टोलीलाई दबाबमा राख्नु नै हो,’ बायर्नका प्रशिक्षक हान्सी फ्लिकले भने ।
हान्सीको नेतृत्वमा बायर्नले यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत नोभेम्बरमा निको कोभाक बर्खास्त भएपछि मूख्य प्रशिक्षकमा बढुवा भएका हान्सीको नेतृत्वमा बायर्न घरेलु लिगमा चौथो स्थानबाट उक्लिएर उपाधि जित्न सफल भयो ।
नकआउट प्रतियोगिता जर्मनकपको उपाधि पनि जितेको बायर्न हान्सीकै नेतृत्वमा पछिल्लो सात वर्षमा पहिलो पटकच्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको छ ।
सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेदेखि बार्यन फेरि प्रतियोगिताको फाइनलमा पुग्न सकेको थिएन ।
बायर्न र पिएसजी उपाधिका लागि आगामी आइतबार बेन्फिकाको स्टेडियम अफ लाइटमा भिड्ने छन् । यो फाइनल खेल सन् १९९८ पछिको पहिलो दुई लिग च्याम्पियनबीचको प्रतिस्पर्धा बन्ने छ ।
त्यस बेला स्पेनी च्याम्पियन रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्टसले प्रतिस्पर्धा गरेका थिए।
‘अहिलेलाई हामी यो जितको खुसी मनाउन चाहन्छौं,’ बार्यनका मिडफिल्डर अलफन्सो डेभिज भन्छन्, ‘त्यसपछि हामी फाइनल खेलमा केन्द्रित हुन चाहन्छौं । यो साच्चिकै राम्रो खेल हुने छ ।’
बायर्नसँगको यो पराजय ल्योनका लागि भने महंगो बनेको छ । यो पराजयसँगै ल्योन अर्को सिजन युरोपको महादेशीय कुनै पनि क्लब फुटबल प्रतियोगितामा नहुने निश्चित भएको छ ।
कोभिड १९ महामारीका कारण पूरा नहुँदै रोकिएको फ्रेन्च लिगमा सातौं स्थानमै रोकिएको ल्योन फ्रेन्चकपमा पनि पिएसजीसँग पराजित भएको थिथो ।
आगामी सिजन युरोपियन क्लब फुटबलको आशा जीवित राख्न ल्योनका लागि च्याम्पियन्स लिगको उपाधी जित्नु एउटा मात्रै बाटो बाँकी थियो । ल्योनले सन् १९९६–९७ को सिजन पछि पहिलो पटक मशादेशीय क्लब फुटबल गुमाउने भएको हो ।
ल्योनले खेलको पाँचौ मिनेटमै गोलको राम्रो अवसर पाएको थियो । यद्यपि, बायर्नको गोलरक्षक मानुइल न्युअर मात्रै रहेको अवस्थामा मेहफिस दिपेले साइड नेटमा प्रहार गरे ।
यस्तै, त्यस लगत्तै टोको इकम्बीको एउटा प्रहार दायाँतर्फको बारमा लागेर फर्किएको थियो ।
‘मलाई लाग्दैन कि हामीसँग कुनै गुनासो हुने छैन । किन भने हामीसँग सुरुवातमै दुई राम्रा अवसर थिए,’ ल्योनका गोलरक्षक एन्थोनी लोपेस भन्छन्, ‘हामी सुरुवातमै दुई गोलले अगाडि रहन्थ्यौं ।
यस्ता ठूला खेलमा प्राप्त सीमित अवसर सदुपयोग गर्न नसक्नुको मूल्य ठूलै चुकाउनु पर्छ ।’
खेलको १८औं मिनेटमा जिनाब्रीले ल्योनका खेलाडीहरुको भीडको बीचबाट बल अघि बढाउँदै बक्सभन्दा बाहिरबाट सशक्त प्रहारमा गोल गरेका थिए ।
ल्यानेविरुद्ध उनको प्रदर्शन निक्कै सशक्त रह्यो । मैदानमा जिनाब्रीले पूरा समय ल्योनका खेलाडीलाई दुःख दिइरहे ।
दोस्रो गोलमा पनि उनकै नाम रह्यो । इभान पेरिसिचले क्रसमा लेवान्दोस्कीको स्लाइडिङ सटु ल्योनका गोलरक्षक लोपेजले फर्काइदिएका थिए ।
त्यही बललाई जिनाब्रीले टोली र व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
ुसुरुवातका केही मिनेट हामीलाई संघर्ष गर्नुपर्यो,ु जिनाब्री भन्छन्, ुतर, मेरो गोल सही समयमा आयो । यसले हामीलाई आत्मविश्वास बढाउन मद्दत गर्यो ।ु
बायर्नका लागी खेलको ८८ औँ मिनेटमा लेवान्दोस्कीले अर्को गोल थपे । जोशुवा किमिचले प्रहार गरेको फ्रिकिकमा उनले हेडिङ गोल गरेका थिए ।
यससँगै उनले यो सिजन च्याम्पियन्स लिगको पछिल्लो नौ खेलमा गोल गरेका छन्। समग्रमा भने उनको यो सिजन ५५ गोल पुगेको छ ।
४ भदौ २०७७, बिहीवार ११:५७ बजे प्रकाशित





