गाडी चलाउँदा ख्याल गर्नुहोला, आजदेखि काठमाडौं उपत्यकासहित यी जिल्लामा जोरबिजोर छ

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै गृह मन्त्रालयले सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।
मन्त्रालयले हिजो बुधबार सूचना जारी गरेर आज बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने जानकारी दिएको हो।
जोरबिजोर प्रणाली काठमाडौं उपत्यका र दुई सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित भएका जिल्लामा लागू हुनेछ। जोरबिजोर लागू भएका जिल्लाका सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी एक्टिभ केस छन्। ती जिल्लामा पनि जोरबिजोर नियम लागू हुनेछ।
गृह मन्त्रालयले ढुवानी बाहेकका अन्य यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय पनि यथावत् राखेको छ।
यसअघि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेकोमा लकडाउन अन्त्यको घोषणासँगै उक्त व्यवस्था हटाइएको थियो।
२२ साउन २०७७, बिहीवार ०६:०६ बजे प्रकाशित