थाहा –२ कुइभिरमा भीषण आगलागी

थाहा । मकवानपुर थाहा–२ स्थित कुईभिर वनमा भिषण आगलागी भएको छ ।

हिजो बेलुकीदेखि सुरु भएको आगो बिहानबाट अझ फैलिएको देखिएको स्थानीयले बताएका छन् ।

आगलागी भइरहेको वनको बीचमा मानव वस्ती छ । हाल वस्ती तलको वनमा आगो लागिरहेको छ । वस्तीमा कुनै असर परिसकेको छैन तर, उनीहरु त्रसित छन् ।

कामदारहरु पनि त्रसित

यस्तै, आगालागी भइरहेको भन्दा ठीक पारीपट्टी थाहा– ७ को जंगलमा मझुला लिफ्टिङ आयोजनाका मजदुरहरु काम गरिरहेका छन् ।

निर्माणधिन खानेपानी आयोजनामा कार्यरत १३ जना मजदुरहरु सेउलाको छाप्रो बनाएर जंगलमै बस्ने गरेका छन् । आगो आफुहरु रहेको जंगलमा समेत आउन सक्ने भन्दै उनीहरु त्रसित भएका हुन् ।

हावाहुरीले आगो उडाएर ल्याउन सक्ने भन्दै उनीहरुले स्थानीय जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, ठेकेदार लगायतलाई आगो निभाउने प्रयासका लागि आग्रह गरेका छन् ।

‘खतरा हुन दिन्नौं’

आगोले क्षेति हुन नदिनका लागि सर्तकता अपनाइने थाहा–७ का वडाअध्यक्ष सनम सिं मोक्तानले बताएका छन् ।

‘दिउँसो हावाहुरी लाग्न थालेपछि खतरा हुन सक्छ । तर, वस्तीमा र कामदारहरु रहेकोतर्फ आउन नदिनका लागि सर्तकता अपनाउन आवश्यक सबै पहल गर्छु’ वडाअध्यक्ष मोक्तानले भने ।

मझुवा लिफ्टिङ खानेपानी उपभोक्ता समितिको अध्यक्ष दिपेन्द्र स्याङ्तानले पनि कामदारहरुलाई फोन गरेर नआत्तिन भनेको सुनाए ।

‘उनीहरुलाई मैले फोन गरिसकेँ । केही टेन्सन लिन पर्दैन, हावाहुरी चल्यो भने माथितिर उभो लाग्नुस । केही पर्यो भने म साथीहरु लिएर आउछुँ भनेको छु’ अध्यक्ष स्याङ्तानले भने ।

हावाहुरी लागेपछि माथितिर लाग्दा कामदारहरुले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए ।

२८ चैत २०७६, शुक्रवार ०४:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु