रहेनन् भेंडीखर्के साइँला अर्थात दिर्घराज अधिकारी !

काठमाडौं, भदौ २७ । बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य व्यक्तित्व भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको दुखद निधन भएको छ ।
ठाडोभाका सम्राट शिरोमणी ८४ वर्षीय गायक भेडीखर्के साइँला एक महिनायता विरामी परेका थिए । उनको आज (सोमबार) साँझ ५ बजेतिर निधन भएको ठाडोभाका लोककला प्रतिष्ठानका सचिव कृष्ण आलेले जानकारी दिए ।
लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उनलाई काठमाडौंस्थित बीर अस्पताल लगेर उपचार गराई पुन लमजुङ फर्काइएको थियो । सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा उनको निधन भएको हो । स्वार्गीय भेंडीखर्केले आइतबार साँझदेखि पानी समेत खान छोडेका थिए ।
घरायसी आर्थिक समस्याले गर्दा राम्रो उपचार पाउन सकेनन् । उनको उपचारका लागि परिवार साथै ठाडोभाका लोककला प्रतिष्ठानले सरकारसंग माग गरेपनि कुनैपनि निकायले वास्ता नगरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनले भने गण्डकी अञ्चलमै चर्चित रहेको ठाडोभाकाको एकमात्र अभियन्ता भेडीखर्केले संसार छोडेर जानुभयो उहाँ हाम्रो सामु रहनुभएन ।
उनले भने उहाँको निधनले राष्ट्र र लोक कलाको क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । भेडीखर्केका १ छोरा र ३ छोरी छन् । घरमा छोरा भएपनि छोराले वास्ता नगर्ने गरेको स्थानीयको भनाई छ । भेडीखर्केका ज्वाइँ शम्सेर लौडारीका अनुसार एक सातादेखि उनले खाना खाएका थिएनन् । पानी पनि दिनमा मुस्किलले एक कप खाने गरेको बताए ।
लमजुङको तत्कालिन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मीएका अधिकारीले ९ बर्षको उमेरदेखि अहिलेको ८४ बर्षको उमेरसम्म ठाडो भाका गाउँदै आएका थिए । उनका दर्जन बढी गीतहरु रेकर्ड भएका छन् ।
पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यस भाका प्रचलनमा ल्याएपनि देश विदेश फैलाउने काम भेडीखर्के साइँलाले गरेका हुन् । २० बर्षअघिसम्म भक्तिमाया दुरासंग विभिन्न कार्यक्रममा ठाडो भाकामा रातदिन छर्लंगै हुने गरि गाउने उहाँले सवै सहयात्रीलाई गुमाएपछि पछिल्लो समय बन्दीपुरकी उत्तम गुरुङसंग ठाडोभाका गीत गाउँदै आएका थिए ।
स्वार्गीय भेडीखर्के ब्राह्मण समाजमा छोरामान्छेले गीत गाउनु हुन्न भन्ने प्रचलन तोड्दै बुवाको आँखाकान छलेर ९ बर्षको उमेरदेखि ठाडोभाका गाउँदै हिँडेका थिए । उनको पार्थिव शरिरलाई भोली मात्रै अन्त्येष्टी गर्ने बताइएको छ । -नयाँ पत्रिकाबाट
२७ भदौ २०७४, मंगलवार ०१:०३ बजे प्रकाशित