सरकारलाई राजपाको फेरि समर्थन

काठमाडौं, बैशाख १९। राष्ट्रिय जनता पार्टीले ‘बदलिँदो परिस्थितिको आँकलन गर्दै’ सरकारलाई समर्थन गर्ने भएको छ।राजपाको सोमबार राजधानीमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन विधेयक परिमार्जन गर्न सरकार फेरि तयार भएको तथा सप्तरी घटनाका सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारलगायत त्यसअघि गिरफ्तारलाई रिहाई आदिका लागि सहमत भएकाले यसअघिको समर्थन फिर्ताको निर्णय पुनर्विचार गर्ने निर्णय गरेको आजको कान्तिपुरमा खबर छ ।

राप्रपाको बहिर्गमनसँगै सरकारलाई संविधान संशोधनको लक्ष्यमा पुग्न बाधा अड्चन आउन सक्ने सम्भावना आँकलन गर्दै बैठकले सरकारलाई संसदमा विश्वासको मत आवश्यक परे सघाउने समेत निर्णय गरेको हो। बैठकले प्रधानन्यायाधीश सुशीला कार्की प्रकरणलाई चासोका विषय नबनाउने, संविधान संशोधनमै केन्द्रित हुने निर्णय पनि गरेको नेता सरतसिंह भण्डारीले बताए।

संघीय समाजवादी फोरम
संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने भएको छ ।
उपेन्द्र यादव नेतृत्वको  फोरम नेपालले उम्मेदवारी दर्ता गर्ने बताएको छ । आफ्नो पार्टीले उम्मेदवारी दर्ता प्रक्रियामा सहभागिता जनाउने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
सोमवार प्रधानमन्त्रीसँग भएको भेटमा पनि फोरमका नेताहरुले आफूहरुले उम्मेदवारी दिने बताएका  थिए  । सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाइएकोमा आफूहरु सन्तुष्ट रहेको भन्दै चुनावमा भाग लिन तयार भएकाे हाे ।

बैशाख ३१ गते हुने स्थानीय तह चुनावका लागि भोलि विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

संघीय फोरमले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग चुनावी तालमेलको सहमति गरिसकेको छ र दुबै पार्टीले साझा चुनाव चिन्ह ‘मसाल’बाट लड्दैछन् ।

 

१९ वैशाख २०७४, मंगलवार ०३:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु