जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना गम्भीर घाइते

जिल्लाको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका-१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेमा कटारी नगरपालिका-१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली-४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली-४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
शनिबार राति ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेको प्रहरीले घाइते तीनजनालाई कटारी अस्पताल पुर्याएको हो । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
३० जेठ २०७८, आइतवार १२:०४ बजे प्रकाशित