कोरोना उपचारमा खटिने कर्मचारीको मृत्यु भए परिवारलाई २५ लाख दिइने

प्रदेश १ सरकारले कोभिड १९ को संक्रमण व्यवस्थापन, नियन्त्रण र बिरामीको उपचारका क्रममा खटिएका कर्मचारीको मृत्यु भए परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारद्धारा खटाइएका बिरामी ओसारपसार, शव व्यवस्थापन, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सरसफाइ र कर्मचारीको कोभिड १९ संक्रमणका क्रममा मृत्यु भए, परिवारलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यस क्रममा नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकम नजोडिने बैठकले जनाएको छ।

बैठकपछि जानकारी दिँदै सामाजिक विकासमन्त्री उषाकला राईले यस क्रममा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, संक्रमित भई बिरामी भएको अवस्थामा प्रदेश सरकारले उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने जानकारी दिइन्।

त्यसैगरी, संक्रमित भएर आईसोलेसनमा बस्न सक्ने अवस्था नहुँदा घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लाग्ने खर्च पनि प्रदेश सरकारले व्यहोर्ने जनाउनेछ।

मन्त्री राईले प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने जानकारी दिए।

यसक्रममा लाग्ने खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने निर्णय भएको बैठकपछि मन्त्री राईले जानकारी दिइन्।

२३ वैशाख २०७८, बिहीवार ०७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु