संसद विघटनविरुद्धका रिट आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

संसद्व घटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

रिटका विषयमा आजको पेशीमा अन्तरिम आदेशका बारेमा बहस हुनेछ । साथै पछिल्लो सुनुवाइ कहिले गर्ने भन्ने निर्णय हुनेछ ।

अदालतले अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्नेबारे पनि टुङ्गो गर्न सक्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बुधबार विघटनविरुद्ध परेका १२ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।

अधिवक्ता सन्तोष भण्डारीले दर्ता गरेको अर्को रिट पनि संवैधानिक इजलासमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् ।

सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ ।

प्रधानन्यायाधीश जबराले भने सो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेकाले रिटहरुलाई संवैधानिक इजलासमा पठाउन गत बुधबार आदेश दिएका थिए ।

रिट निवेदक र अधिवक्ताहरुले भने बृहत इजलासमा सुनुवाइ हुनुपर्ने माग राखेका थिए ।

१० पुस २०७७, शुक्रवार १०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु