रौतहटमा पुनः निषेधाज्ञा लगाइयो, काठमाडौंमा के गर्ने ?

कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरेका हुन्।

तराईमा भव्यताका मनाइने दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

प्रजिअ यादवले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप जिल्लाभरि लागु हुने गरी निषेधाज्ञा जारी गरेका हुन्।

आगामी मंसिर १७ गतेसम्मका लागि जारी निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योगवाणिज्य(व्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग जिप्रकाले अनुरोध गरेको छ।

कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेको र १७४ संक्रमित छन्।

जिल्लाभरि सार्वजनिक खेलकूद, नाच, तमासा, मेला, भीडभाड हुने कार्यक्रम, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलूस र प्रदर्शन गर्नमा जिप्रकाले रोक लगाएको छ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा पनि दैनिक नित्य, पूजाराधनाबाहेक गतिविधि सञ्चालन नगर्न आदेशमा भनिएको छ।

२२ कात्तिक २०७७, शनिवार ०७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु