नेपाल पत्रकार महासंघले तीनवटा सञ्‍चारगृहमा धर्ना दिने

नेपाल पत्रकार महासंघले कात्तिक २६ गते तीनवटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना दिने भएको हो ।

निष्कासित पत्रकारहरुको ससम्मान पुनर्बहाली, यसबीचको तलब , भत्ता उपलब्ध गराउन, दसैं खर्चलगायत विगतमा दिँदै आएका सेवा सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावलीअनुसारका सेवा(सुविधा उपलब्ध गराउन पाँचदिने अल्टिमेटम दिँदै महासंघले ती सञ्‍चार गृहमा बिहीबार पत्रसमेत पठाएको छ ।

अन्‍नपूर्ण पोस्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्युज पब्लिकेसन प्रालिलाई पटक(पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रहबमोजिम श्रम समस्या समाधान नगरेकाले पाँच दिनभित्र माग सम्बोधन नगरे पहिलो चरणको आन्दोलन थाल्ने जानकारी गराइएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको निर्णयबमोजिम पत्राचार गरिएको हो । पाँच दिनभित्र सम्बद्ध सञ्चार गृहको व्यवस्थापनले आन्तरिक रुपमै समस्या सम्बोधन गरी महासंघलाई आन्दोलन जानबाट रोक्ने विश्वासका साथ पत्राचार गरिएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए ।

दाहालका अनुसार, माग पूरा नभए महासंघको नेतृत्वकै अगुवाइमा हुने पहिलो चरणको आन्दोलन सम्पन्‍न गरी दोस्रो चरणमा सम्बद्ध सञ्चार गृहका सञ्‍चालकको निवास घेराउ र त्यतिले पनि नभए तेस्रो चरणमा पीडीत सञ्चारकर्मीलाई सत्याग्रहमा राख्नेबारे महासंघ छलफलमा छ ।

२६ गते हुने आन्दोलनको तयारी थाल्न महासंघले सम्बद्ध मिडिया प्रतिष्ठानमा रहेका महासंघका शाखालाई निर्देशनसमेत दिएको छ ।

२० कात्तिक २०७७, बिहीवार १४:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु