निरन्तरको वर्षा भोलिसम्म, सतर्क रहन अपिल
देशभर चार दिनयताको लगातारको वर्षा भोलिसम्म हुने भएको छ ।
गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ असोज देखिको निरन्तरको वर्षा भोलिसम्म हुने जानकारी दिएको हो ।
प्राधिकरणले धेरै ठाउँका खोला, नदीहरुमा बाढी आएकोले जोखिम अझै कायमै रहेको बताएको छ । उसले सतर्कता अपनाउन समेत भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा आज साँझ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
बागमती प्रदेश, गण्डाकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरु, प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा कर्णाली प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो र आज गरी बाढीपहिरोबाट देशका विभिन्न स्थानमा ५ जनाको मृत्यु हुनाको साथै १८ जना वेपत्ता भएका छन् ।
पहिरोका कारण ३ स्थानमा बाटो अवरुद्ध छ । सबैभन्दा ठुलो क्षति स्याङ्जाको वालिङ नगरपालिकाको सिरिसेमा भएको छ ।
८ असोज २०७७, बिहीवार २०:५२ बजे प्रकाशित





