फेला पर्‍यो चीनसँगको ११ नम्बर सीमा पिल्लर (फोटोसहित)

उत्तरी सिमाना अनुगमनमा गएको नेपाली टोलीले चीनसँगको ११ नम्बर सीमास्तम्भ फेला पारेको छ । उक्त सीमास्तम्भ ०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो ।

५८ वर्षपछि नेपाली टोलीले उक्त सीमास्तम्भ भेटेको हो ।

चीनले सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गरेको भन्ने विवाद आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्‍जीवी गिरी नेतृत्वको टोली सिमानामा पुगेको थियो ।

चिनियाँ अधिकारीसँग वार्ता गर्ने प्रयास सफल नभएपछि नेपाली टोली सीमास्तम्भको खोजीमा जुटेको थियो । त्यसक्रममा हराएको भनिएको सीमास्तम्भ फेला परेको हो ।

हुम्लाको नाम्खा गाउँपालिका(६ टाकुलेमा सीमास्तम्भ भेटिएको अनुगमन टोलीका एक सदस्यले बताए । उनका अनुसार सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । चीनसँगको सिमानामा १५ वटा सीमास्तम्भ छन् । तीमध्ये ११ नम्बर सीमास्तम्भ हराएको थियो ।

यो सीमास्तम्भ नभेटिँदा चीनले सीमा क्षेत्रमा बनाएका संरचनाबारे विवाद उत्पन्न भएको थियो ।

नाम्खा गाउँपालिका(६ लाप्चा उपत्यकाको लोलुङजोङमा चीनले ११ वटा भवन बनाएको छ । स्थानीय बासिन्दाले ती भवन नेपाली भूमिमा बनाएको बताउँदै आएका छन् ।

चीनले त्यसलाई आफ्नो जमिन दाबी गर्दै आएको छ । विवाद उत्पन्न भएपछि हुम्लाका प्रजिअ गिरीको नेतृत्वमा सुरक्षाकर्मीको टोली लोलुङजोङ पुगेको हो । त्यहाँ रहेका चिनियाँ अधिकारीले आफ्नो भूमि भन्दै उनीहरूलाई फिर्ता पठाएका थिए ।

स्थानीय बासिन्दा र जनप्रतिनिधि भने चीनले भौतिक संरचना बनाएको लोलुङजोङ क्षेत्र नेपालकै भएको बताउँछन् । अनुगमन टोलीमा रहेका नाम्खा गाउँपालिका अध्यक्ष विष्‍णुबहादुर तामाङले त्यो क्षेत्रमा यसअघि चौँरी चराउने गरिएको बताए ।

८ असोज २०७७, बिहीवार ०७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु