जनदवाव पछि चीनले नेपालसँगको नाका एकतर्फी खोल्यो

चीनले केरुङ लगायत नेपालसँग जोडिएका सिमाना खुल्ला गरिदिएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासका प्रवक्ता बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालका लागि पठाईने अत्यावश्यक सामान ढुवानीका लागि सीमा नाका खोलिदिएको जनाइएको छ ।
दूतावासका अनुसार सीमा नाका पूर्णरुपमा खोल्नका लागि अन्य काम भैरहेको समेत जनाइएको छ ।
विज्ञप्तिमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सीमा बन्दगाह सञ्चालनमा प्रतिबन्ध गरिएको जनाएको छ । तर मेडिकल सामाग्री र नेपालको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै एकतर्फी रुपमा नाका खोल्ने निर्णय भएको जनाएको छ ।
विज्ञप्तिमा तिब्बतका झान्ग्मु र जिलोङ बन्दगाहसँग जोडिएका सीमा एकतर्फी रुपमा खोल्ने जनाइएको छ ।
जिलोङसँग नेपालको रसुवागढी केरुङ नाका जोडिएको छ । कोरोना महामारी र खराब मौसमका कारण दुईतर्फी सामान ढुवानीमा समस्या आएको जनाउँदै त्यसको पूर्णरुपमा कार्यान्वयन गर्न अझै केही समय लाग्ने दूतावासको भनाई छ ।
दूतावासका प्रवक्ता वाङ सिआओलङले भनेका छन् ‘चीन र नेपालले चाँडो बन्दरगाहको सञ्चालन पुनः सुरु गर्नका लागि कदम चालेको छ र नेपालले तत्काल आवश्यक पर्ने केही आपूर्तिलाई भन्सार निकासीको व्यवस्था गरेको छ।’
चिनियाँ पक्षले सामान ढुवानी गर्ने विषयलाई निकै गम्भीरतापूर्वक लिएको जनाउँदै दुवै देशले चाँडोभन्दा चाँडो पूर्णरुपमा सीमा बन्दगाह सञ्चालन गर्नका लागि तिव्र गतिमा काम गरिरहेको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
पछिल्ला महिना कोरोना महामारीका कारण नेपालसँग जोडिएका चिनियाँ नाका बन्द भएपछि चीनबाट ल्याउने तयारी गरिएको स्वास्थ्य सामाग्री समेत उतै अड्किएको थियो भने नेपाली बजारमा दशैं तिहारका बेला आउने चिनियाँ सामान नआउँदा समस्या पर्ने देखिएको थियो ।
बुधबारै रसुवागढी नाकाबाट केही स्वास्थ्य सामाग्री नेपाल भित्रिइसकेको छ ।
८ असोज २०७७, बिहीवार ०७:१६ बजे प्रकाशित