२१ दिनपछि चीनबाट भित्रियो एक कन्टेनर स्वास्थ्य सामाग्री

नेपाली कामदारलाई कोरोना देखिएपछि भदौ १७ गतेदेखि बन्द नेपाल(चीन रसुवागढी नाका बुधबारबाट सञ्चालनमा आएको छ ।
चिनियाँ अधिकारीहरुले बुधबार एक कन्टेनर स्वास्थ्य सामाग्री मितेरी पुलसम्म ल्याइदिएको रसुवा भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले अनलाइन खबरलाई बताए । नाका बन्द भएको २१ दिनपछि पहिलोपटक नाकाबाट मालसामान भित्रिएको हो ।
‘विहान सवा नौ बजेतिर स्वास्थ्य सामग्री बोकेको एक कन्टेनर मितेरी पुलमा ल्याएर उहाँहरुको सामान हस्तान्तरण गर्नुभयो, नाका क्षेत्रको अवलोकन पनि गर्नुभयो,’ भन्सार अधिकृत खड्काले भने ।
बुधबार बिहान चिनियाँ पक्षले ल्याईदिएको कन्टेनरमा बालबालिकालाई लगाइने खोपको सिरिन्ज रहेको खड्काले बताए । सामान लिएर आएका चिनियाँ अधिकारीले नाकाको अवलोकन गरेको र बिहीबारदेखि दैनिक ५ कन्टेनर सामान पठाउने जानकारी दिइएको पनि खड्काले बताए ।
ढलान गरिएको तर प्रयोग नभएको एउटा सडकमा चीनतर्फबाट आएका सामान खसाउने गरी चिनियाँ पक्षले अवलोकन गरेको उनको भनाइ छ ।
तातोपानी नाका खुलाउन पनि बुधबार मजदुरहरुको कोरोना परीक्षण हुने भएको छ ।
७ असोज २०७७, बुधवार १७:३२ बजे प्रकाशित