पुराना वामपन्थी नेता भेट्न चितवन पुगे प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवरलाई भेट गरेका छन् ।

शुक्रबार चितवन पुगेका प्रचण्डले केही समयदेखि अस्वस्थ्य रहेका श्रेष्ठ र कुँवरलाई उनीहरुको निवासमै पुगेर भेट गरेका हुन् । भेटमा दुबै जनाको स्वास्थ्य अवस्था बुझेर प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

पुराना कम्युनिष्ट नेता श्रेष्ठको निवास पुलचोकमा पुगी प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका थिए। केही दिनअघि घरमै लडेर गम्भीर बनेका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेको कारण मस्तिष्कमा रगत जमेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको थियो ।

अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको श्रेष्ठका छोरा सुधिर श्रेष्ठले बताए । नेकपा अध्यक्ष प्रचण्डले श्रेष्ठले कम्युनिष्ट आन्दोलन र निष्ठाको राजनीतिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा विशेष ख्याल गर्न परिवारजनलाई आग्रह गरे ।

प्रचण्डले शनिबार नै अर्का पुराना वामपन्थी नेता कुँवरको निवासमा पुगेर उनलाई भेटे। लामो समयदेखि प्रोस्टेटको समस्यामा रहेका कुँवरले स्वास्थ्यलाभ गरिरहेका छन् । प्रचण्डले नेता कुँवरको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उच्चमनोबलका साथ जिउन आग्रह गरे ।

काजीबा उपनामले चर्चित कुँवरले तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध संचालन गर्दा अध्यक्ष प्रचण्डको मुख्य रणनैतिक सल्लाहकारको भूमिका निभाएका थिए ।

पार्टी एकतापछि बनेको नेकपाले सत्ता संचालनको मौका पाएर पनि जनताको पक्षमा ठोस काम गर्न नसकेको भन्ने नेता कुँवरको गुनासो रहेको छ ।

प्रचण्डसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थिति रहेको थियो । पारिवारिक भेटघाटमा शुक्रबार चितवन पुगेका प्रचण्ड आज नै काठमाडौं फर्किएका छन् ।

३ असोज २०७७, शनिवार १८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु